काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे बाढी प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहतका विषयमा छलफल भएको हो । सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीबाट परेको असर तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए । यसअघि प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज, उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा तथा राहतका लागि पूर्ण प्रतिबद्धताका साथ परिचालन भएको बताए । उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा विस्थापितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी गराए । सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र गतिमा अघि बढाएको छ ।