काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्र अघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर गरेका छन् ।
पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले निजी क्षेत्र अघिअघि र मन्त्रालय पछिपछि रहने बताए। मन्त्री पाण्डेले हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानुन बनाउने अधिवेशन हुने र हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताए।
उनले भने, ‘हामी जोजो जुन जुन ठाउँमा छौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिनँ भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन। कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन। जनताले भन्यो भने म मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने त्यो नैतिक तागत मैले देखाउनुपर्छ।
मन्त्री पाण्डेले निजी क्षेत्रले देशभक्ति र राष्ट्रभक्तिलाई सर्वोपरी राखेर नीति र कानुन बनाउन लाग्नुपर्ने बताए। निजी क्षेत्रप्रति सरकार सम्पूर्ण रुपमा सकारात्मक रहेको उल्लेख गरे।