काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)द्वारा आयोजना गर्न लागिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आगामी भदौ ११ देखि १५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा हुने भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिइयो।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोमा ३५ ओटा ब्राण्डका सवारी साधन सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार १५ वटा नयाँ ब्राण्ड नेपालमा पहिलोपटक प्रस्तुत गरिनेछ भने १५ वटा ब्राण्डले आफ्ना नयाँ मोडेल तथा प्रविधिसहितका गाडी प्रदर्शन गर्नेछन्। साथै, ५ वटा कमर्सियल गाडी पनि सार्वजनिक गरिनेछ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका संयोजक शिरिष प्रधानले एक्स्पो नेपालकै ठूलो अटो प्रदर्शनी हुने दाबी गरे। उनले एक्स्पोमा विद्युतीय सवारी साधन, पेट्रोल–डिजेल सवारी, सहायक उपकरण, स्पेयर पार्ट्स, सेवा केन्द्र, वित्तीय संस्था लगायत विविध क्षेत्रका सहभागिता रहने बताए।
कार्यक्रममा एम्पायर बैंक लिमिटेडका सहायक महाप्रबन्धक बिष्णु प्रसाद न्यौपानेले बैंकको सहकार्यमा सवारी साधन खरिदका लागि कर्जा सुविधा र सहुलियत योजनासमेत उपलब्ध हुने जनाए। उनका अनुसार सहुलियतपूर्ण ब्याजदरमा कर्जा, बीमा तथा करसम्बन्धी सेवा प्रदायकहरू समेत एक्स्पोमा सहभागी हुनेछन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न ब्राण्डका आधिकारिक विक्रेताहरू तथा अन्तर्राष्ट्रिय साझेदारहरूको पनि सहभागिता रहनेछ। प्रमुख प्रदर्शक कम्पनीहरूमा हिमालयन जनरल इन्स्योरेन्स, लिजिङ सेवा प्रदायकहरू, टायर तथा ब्याट्री कम्पनीहरू, वित्तीय संस्था, हेल्थकेयर तथा मेडिकल पार्टनर लगायतका विभिन्न क्षेत्रका कम्पनीहरू सहभागी हुने छन्।
नाइमा अध्यक्ष विजय विक्रम शाहका अनुसार एक्स्पोले नेपालमा मोबिलिटीको भविष्य, विद्युतीय सवारी साधनको विकास, नीति तथा लगानीको सम्भावनालाई उजागर गर्ने लक्ष्य राखिएको छ। एक्स्पोमार्फत नवीन प्रविधिका सवारी साधन तथा सेवाहरूको प्रवर्द्धन र जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।