काठमाडौँ। २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनले ३५ मुनिका धेरै युवाहरूलाई संसद् प्रवेश गराएको छ। त्यसमध्ये मुलुकको सबैभन्दा लामो राजनीतिक विरासत बोकेको दल नेपाली कांग्रेसबाट संसद्मा प्रतिनिधित्व गर्ने युवा सांसद हुन्- गीता गुरुङ। ३० वर्षीया गुरुङ कांग्रेसबाट निर्वाचितमध्ये कान्छी सांसद हुन्। सानै उमेरदेखि सक्रिय राजनीतिमा होमिएकी उनले विद्यार्थी राजनीतिसँगै पार्टीका विभिन्न भूमिकामा काम गरेर अनुभव बटुल्दै अब मुलुकको कानुन निर्माण गर्ने सर्वोच्च थलो संसद्को यात्रा तय गरेकी छन्। समानुपातिकमा आदिवासी जनजातितर्फ उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-४, जुबुमा जन्मिएकी ३० वर्षीया गीताले अब आदिवासी हिमाली महिलाका संघर्ष र गाथाहरू संसद्सम्म पुर्याउने छिन्। संसारकै सर्वोच्च शिखर सगरमाथा अवस्थित जिल्ला हो- सोलुखुम्बु। जन्मथलोको शिर सर्वोच्च शिखर हुनु गर्वको विषय त हो नै। तर हिमालको काखमा जन्मिनु र दैनिकी गुजार्नु त्यति सजिलो पनि छैन। हिम फेदीमा हिउँ र सिरेटोसँग संघर्ष गर्दै सोलुखुम्बुको विकट गाउँमा हुर्किएकी गुरुङ अब त एक अब्बल, अनुभवी र शिक्षित महिला हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेकी छन्। गाउँमा एसएलसीसम्मको पढाइ सकेर काठमाडौँ आएकी उनले ट्रीनिटी कलेजबाट प्लस टु र त्रिचन्द्र कलेजबाट बीएस्सी गरेकी हुन्। जुबुको जनकल्याण माविमा पढ्दा पढ्दै नेविसंघको इकाइ अध्यक्ष भएर राजनीति सुरु गरेकी उनी नेविसंघको जिल्ला उपाध्यक्ष पनि भइन्। पछि नेविसंघको केन्द्रीय सदस्य भएर लामो समय सक्रिय राजनीति गरिन्। पार्टीको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी उनी हाल पार्टीको कोशी प्रदेश सदस्य समेत छिन्। दुर्गमको दुखदेखि सहरका सडकसम्म आदिवासी महिलाका संघर्षमात्रै होइन, युवा, महिला र नागरिकका पक्षमा वकालत गर्दै आएकी उनी अब संसद्मा जनताका पक्षमा कानुन निर्माण गर्ने सशक्त भूमिकामा प्रस्तुत हुँदैछिन्। संसद्मा यसपटक युवाहरूको भीड नै छ।