एजेन्सी । घानाको पूर्वीबन्दरगाह शहर टेमामा एक माइक्रोलाइट विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घाना राष्ट्रिय अग्नि निवारण सेवा, टेमा क्षेत्रका प्रवक्ता एबेनेजर येन्जुले उक्त घटनाको पुष्टि गरेका छन् । उनले बन्दरगाह सहरको ‘कम्युनिटी १’ स्थित ‘टेमा मेट्रोपोलिटन एसेम्बली नर्सरी ३’ विद्यालयको प्राङ्गणमा विमान दुर्घटनाग्रस्त भएको बताएका थिए । प्रवक्ता येन्जुले केही प्रत्यक्षदर्शीहरूको सहयोगमा अग्नि निवारण टोलीले करिब पाँच मिनेटभित्रै आगो निभाउन सफल भएको जानकारी दिए । विमान दुर्घटनाको कारणको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता येन्जुले बताए ।