माइतीघरबाट युवाको प्रश्न- पत्रकार पक्राउ र सञ्चारमाध्यममाथिको हस्तक्षेप किन? जवाफ देऊ सरकार

  • शनिबार २२ कात्िक २०८३ ०६:३७ PM
काठमाडौँ । पत्रकार पक्राउ र सञ्चारमाध्यममाथिको हस्तक्षेपविरुद्ध विभिन्न क्षेत्रमा क्रियाशील युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी पुस्कर वास्तोलाका अनुसार करिब दुई सय युवा स्वतःस्फूर्त रूपमा उपस्थित भएका थिए । पत्रकारलाई गिरफ्तार गर्ने, सञ्चारमाध्यममा छापा मार्ने, दबाब दिने तथा आलोचनात्मक प्रश्न सोध्ने पत्रकार र सञ्चारगृहलाई निशाना बनाउने प्रवृत्तिले विधिको शासन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने सहभागीहरूको ठहर थियो । विगतका ऐतिहासिक सङ्घर्षबाट स्थापित नागरिक अधिकार कुनै पनि बहानामा खोस्न नपाइने उनीहरूले बताएका छन् । प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुरक्षित हुन नसक्ने भन्दै सहभागीहरूले स्वतन्त्र पत्रकारितामाथिका प्रत्यक्ष तथा अप्रत्यक्ष हस्तक्षेप रोक्न सरकारसँग माग गरेका छन् । नागरिकका प्रश्नको जवाफ शक्ति प्रदर्शनबाट नभई पारदर्शिता र जवाफदेहितामार्फत दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।