प्रथम अधिवेशनसँगै दीपावली शुभकामना आदानप्रदान तथा विविध,सांस्कृतिक कार्यक्रम सम्पन्न भवानी भट्ट / टोकियो, जापान। जन्मभूमिबाट टाढा रहे पनि आफ्नो भाषा, संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई जीवन्त राख्ने उद्देश्यसहित जापानमा रहेका अछामीहरू संगठित भएका छन्। अछामी समुदायबीच आपसी एकता, सहकार्य र भाइचाराको सम्बन्ध विस्तार गर्ने लक्ष्यसहित स्थापित अछाम समाज जापानको प्रथम अधिवेशन शनिबार टोकियोमा सम्पन्न भएको छ। अधिवेशनले गणेश जैशीलाई समाजको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। जैशीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति गठन गरिएको हो। जापानमा विभिन्न पेसा, व्यवसाय तथा रोजगारीमा आबद्ध अछामीहरूलाई एउटै संस्थागत छातामुनि जोड्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा आदित्य ढकाल, उपाध्यक्षमा चेतमान रावल र महिला उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ कुँवर चयन भएका छन्। त्यसैगरी महासचिवमा छत्र बिष्ट, सचिवमा तपेश्वरी ढुंगाना र देवेन्द्र अधिकारी, कोषाध्यक्षमा पदमा भण्डारी तथा सहकोषाध्यक्षमा भरत कुँवर चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा सागर रिमाल, सीता गुरुङ, जनक बिष्ट, अर्जुन बिष्ट, शिशिर कुँवर, रमेश कुँवर, रुपक कुँवर, दीपक सोडारी, प्रदीप कठायत र राजेश सुनार चयन भएका छन्। बाँकी सदस्य तथा केही पदहरू कार्यसमितिले पछि मनोनयन गर्ने गरी खाली राखिएको निर्वाचन समितिका संयोजक टक्कर कुँवरले जानकारी दिएका छन्। अध्यक्षमा निर्वाचित जैशीले जापानमा रहेका सम्पूर्ण अछामीलाई एकताबद्ध गर्दै समाजलाई सबैको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आपसी सहयोग, सद्भाव, भाइचारा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर संस्थाका गतिविधि अघि बढाउने उनको भनाइ थियो। निर्वाचन समितिका संयोजक टक्कर कुँवरले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराउँदै प्रमाणपत्र हस्तान्तरण गरेका थिए। संस्थापक अध्यक्ष तथा प्रथम अधिवेशन मूल आयोजक समितिका संयोजक लोकेन्द्र जंग कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। डेउडा र सांस्कृतिक प्रस्तुतिले टोकियोमा झल्कियो अछामको पहिचान अधिवेशनसँगै दीपावलीको शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा सुदूरपश्चिम र विशेषगरी अछामको मौलिक कला, संस्कृति र परम्परा झल्काउने डेउडा खेल, विभिन्न नृत्य तथा गीतसंगीतका प्रस्तुतिहरूले उत्साहपूर्ण वातावरण सिर्जना गरेका थिए। मोडेल तथा डान्सर झरना बोहरालगायत कलाकारहरूको प्रस्तुतिमा सहभागीहरू नाचगान गर्दै रमाएका थिए। प्रवासको व्यस्त दैनिकीबीच आफ्नो गाउँघरको कला र संस्कृतिसँग जोडिने अवसरले कार्यक्रममा छुट्टै रौनक थपेको थियो। साहित्यकार सागर रिमालले आफ्ना गजल वाचन गरेर कार्यक्रमलाई साहित्यिक स्वादसमेत दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जापानका पूर्वउपाध्यक्ष तथा सुदूरपश्चिमेली नेपाली समाज जापानका पूर्वअध्यक्ष पूर्ण चलाउनेले जापानमा रहेका सबै अछामीलाई समेटेर समाजलाई सक्रिय र रचनात्मक संस्थाका रूपमा अघि बढाउन सुझाव दिएका थिए। उनले समुदायको एकता र सहकार्यका लागि यस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज जापानका वरिष्ठ उपाध्यक्ष ईश्वर खड्का, कोषाध्यक्ष नरेश भण्डारी, सामाजिक व्यक्तित्व धनराज उपाध्याय, वीरेन्द्र रावल, अमित बिष्ट, रविन्द्र रावल र कमल बोगटीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सुदूरपश्चिमेली समाजका पूर्वमहासचिव दिनेश अधिकारीले गरेका थिए। अछामबाट जापान आई विभिन्न पेसा तथा व्यवसायमा आबद्ध नेपालीहरूबीच चिनजान, सम्बन्ध विस्तार, आपसी सहयोग र सामाजिक एकता कायम गर्ने उद्देश्यले अछाम समाज जापान स्थापना गरिएको हो। प्रवासमा आफ्नो मौलिक पहिचान, भाषा, कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुका साथै जन्मभूमिसँगको सम्बन्धलाई निरन्तरता दिन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन र दीपावलीको सांस्कृतिक उत्सव एकैसाथ सम्पन्न हुनुले जापानमा अछामी समुदायको संस्थागत एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।