काठमाडाैं । आजदेखि भदौ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा १७ औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शोको उद्घाटन गर्ने छन् भने अर्थमन्त्री विष्णु पौडेलले कर्टेन रेज गर्नेछन् ।
यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ ।
नाडा अटो शोको मुख्य आकर्षणको रुपमा हेरिएको नेपालकै पहिलो इभीटोल दीपलको उड्ने ट्याक्सीलाई समेत प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नेछन्।
एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिन नाडा अटो शोमा यो गाडी राखेको छ।
अटो शोमा चारपांग्रे, दुईपांग्रे र अटो कम्पोनेन्टहरु सहभागी छन्। नाडाले भविष्यमा आउने सवारीलाई लक्षित गर्दै नयाँ प्रविधिलाई प्राथमिकता दिएको जनाएको छ। नाडा अटो शोमा नेपाल भित्रिएका पुराना भिन्टेज गाडीको पनि अवलोकन गर्न पाइने छ।
दीपलको फ्लाइङ कारसहित अटो शोमा सुजुकी, बीवाईडी, दीपल एलएस अटो, टाटा, डोङफेङ नामीका नयाँ मोडल अवलोकन गर्न सकिन्छ। त्यसबाहेक अटो शोमा अवतार, सेरेस, टेस्ला, आयन, फोटोन, जिनपेङका स्टल रहने छन्।
शुरुमा ४ वटा स्टल तय भएको दुईपांग्रेमा हार्ले डेभिएसन पनि जोडिएको छ। प्रिमियम बाइक हार्ले सहित हिरो, रोयल इन्फिल्ड, जोनसोन र यामाहाका नयाँ मोडल देख्न पाइने छ। एक दर्जन बढी कमर्सियल गाडी ब्रान्डको उपस्थिति रहने छ।
प्रदर्शनमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन रहनेछन् ।