काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले नयाँ निर्वाचित जनप्रतिनिधिलाई विगतका सरकारलाई दोष दिएर राजनीतिक भाष्य निर्माण गर्नुभन्दा वर्तमान र भविष्यका काममा केन्द्रित हुन आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘३५ वर्षसम्म, ३५ वर्षसम्म’ भन्ने भाष्यबाट बाहिर निस्किनुपर्ने उल्लेख गरेकी छन् । उनले अब नयाँ जनप्रतिनिधिको पनि मूल्याङ्कन सुरु भइसकेको बताएकी छन् । ‘अब तपाईँहरूको पनि गन्ती सुरु भइसकेको छ । घरबारविहीन सुकुम्वासीले तपाईँहरूको दिन गनिरहेका छन् । भूमिहीन नागरिकले गनिरहेका छन् । बेरोजगार युवाले गनिरहेका छन् । खाडीमा पसिना बगाइरहेका नेपालीले गनिरहेका छन्,’ उनले लेखेकी छन् । बमले अब राज्य सञ्चालनको जिम्मेवारी नयाँ नेतृत्वकै हातमा रहेको उल्लेख गर्दै विगतभन्दा वर्तमान र भविष्यका काममा ध्यान दिनुपर्ने बताएकी छन् । उनले अर्को निर्वाचनसम्म आइपुग्दा वर्तमान जनप्रतिनिधिको पनि पाँच वर्ष पूरा भइसक्ने स्मरण गराउँदै चुनावी प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेकी छन् । ‘अब डाडुपन्यु तपाईँहरूकै हातमा छ । त्यसैले विगतभन्दा वर्तमान र भविष्यमा केन्द्रित हुनुहोस्,’ उनले भनेकी छन् । बमले जनताले राजनीतिक दल र जनप्रतिनिधिले गरेका वाचा तथा प्रतिबद्धता सम्झिरहेको उल्लेख गर्दै उनीहरूको कार्यसम्पादनमाथि निरन्तर निगरानी भइरहेको बताएकी छन् । ‘तपाईँहरूको बाचा पत्र जनजनको हातमा छ । जनताले सम्झेका छन्, हेरिरहेका छन्, र हिसाब पनि राखिरहेका छन्,’ उनले फेसबुक स्ट्याटसमा उल्लेख गरेकी छन् ।