भाषामाथिको बहसबिच उपसभामुख ठाकुरको अभिव्यक्ति: ‘पहिचानको सम्मान गरौँ’

  • बिहीबार २८ जेठ २०८३ १०:०० PM
काठमाडौँ । उपसभामुख रुवीकुमारी ठाकुरले आफ्नो मातृभाषा मैथिली भएको र मधेस आफ्नो जन्मभूमि भएको उल्लेख गर्दै भाषिक पहिचानप्रति गर्व व्यक्त गरेकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठक चलाउँदा नेपाली भाषामा असहज देखिएकी उनको सामाजिक सञ्जालमा विरोध भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आफूले शुद्ध नेपाली बोल्न निरन्तर प्रयास गरिरहेको बताएकी छन् । ‘मेरो बोली, लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो,’ उनले लेखेकी छन् । उनले मातृभाषा केवल संवादको माध्यम नभई पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको अमूल्य सम्पदा भएको उल्लेख गरेकी छन् । ‘यसलाई म गर्वका साथ अपनाउँछु र जीवनभर सम्मान गरिरहनेछु,’ उपसभामुख ठाकुरले भनेकी छन् ।