काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मन्त्रालयलाई आवश्यक कानुनका मस्यौदा छिटो तयार गरी सङ्घीय संसद्लाई पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउन आग्रह गरेकी छन् । बिहीबार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीसहित सम्बन्धित मन्त्रालयका अधिकारीसँग भएको छलफलमा मन्त्री गौतमले विधेयक निर्माण प्रक्रियालाई तीव्र बनाउन आग्रह गरेकी हुन् । उनले भनिन्, ‘संसद्लाई बिजनेस दिन सबै मन्त्रालयले काम गर्नुपर्ने भएकाले छिटो विधेयक मस्यौदा गरेर पठाउनुस् ।’ छलफलमा मन्त्रालयले आगामी आर्थिक वर्षमा संसदमा पेस गर्ने विधेयकको सूची समयमै अन्तिम गरी पठाउने र प्रत्येक विधेयकको स्पष्ट समय रेखा निर्धारण गर्ने विषयमा पनि छलफल भएको थियो । मन्त्री गौतमले विधेयक निर्माणमा हतार नगरी पर्याप्त गृहकार्यसहित गुणस्तरीय कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै अस्पष्ट वा परस्पर विरोधाभाषी कानुनले राज्यको समय, श्रम शक्ति र स्रोतको अनावश्यक खर्च हुनेतर्फ ध्यानाकर्षण गराइन् । उनले विधायन ऐन लागू भएपछि कानुन निर्माण प्रक्रियामा स्पष्टता आएको उल्लेख गर्दै ऐनअनुसार नै काम गर्नुपर्ने आवश्यकता औँल्याइन् । साथै बजेट प्रस्तुतिपछि तथा मन्त्रालय पुनर्संरचना (मर्ज) भएपछि केही नीतिगत विषयमा पुनरावलोकन आवश्यक रहेको बताइन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री रावलले छलफलले विधेयक निर्माणसम्बन्धी प्राथमिकता र कार्यदिशाबारे स्पष्टता आएको भन्दै आगामी दिनमा समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाइन् । त्यस्तै, महिला तथा सामाजिक सुरक्षा मन्त्री वादीले आवश्यक कानुन तथा विधेयक मस्यौदा प्रक्रियालाई तीव्रता दिने बताइन् । कानुन मन्त्री गौतमले मन्त्रालयबीचको समन्वय र साझा जिम्मेवारीबारे थप स्पष्टता आएको उल्लेख गर्दै कानुन निर्माण प्रक्रियालाई प्रभावकारी, समयबद्ध र गुणस्तरीय बनाउन पूर्व तयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।