करिब सात लाख सदस्यले गरिसके कांग्रेसको सदस्यता अद्यावधिक

  • शुक्रबार​ २९ जेठ २०८३ ०९:१९ AM
काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देशभरबाट उत्साहजनक सहभागिता देखिएको जनाएको छ। पार्टी सङ्गठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियानमा अधिकांश क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कांग्रेसले जनाएको हो। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २८ गते राति १२ बजेसम्म ५ लाख ३८ हजार ६२२ जनाले वडा सभापति मार्फत NCID प्राप्त गरिसकेका छन्। त्यसैगरी १ लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी वडा सभापति मार्फत अद्यावधिक प्रक्रियामा रहेको कांग्रेसले जनाएको छ। इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने पनि विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने जानकारी दिएको छ। पार्टीले यस महत्त्वपूर्ण अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।