काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य जीवन परियारले हरेक सरकार दलित समुदायका लागि प्रतिपक्षसरह रहेको बताएका छन् । राष्ट्रिय दलित कर्मचारी समाज नेपालको वार्षिक साधारण सभाको समापन समारोहलाई सम्बोधन गर्दै उनले दलित समुदायका अधिकार र प्रतिनिधित्वका लागि निरन्तर सङ्घर्ष आवश्यक रहेको बताए । काँग्रेसका पूर्व सह-महामन्त्री समेत रहेका परियारले भने, ‘हाम्रो पार्टी नेपाली काँग्रेसको नेतृत्वमा गठन भएको सरकार पनि दलित समुदायका लागि प्रतिपक्ष नै हुन्छ,’ उनले थप्दै भने, ‘त्यसैले सार्वजनिक सेवामा कार्यरत दलित समुदायका सबै व्यक्ति एकजुट भएर आफ्नो अधिकारका लागि लड्नुपर्छ ।’ आफू पनि निजामती परिवारको सदस्य भएकाले निजामती सेवाप्रति विशेष सद्भाव र लगाव रहेको उल्लेख गर्दै परियारले सङ्घीय र प्रदेश संसदमा रहेका दलित सांसद तथा कर्मचारीबिच समन्वय गरेर काम गर्नुपर्ने बताए । उनले सङ्घीय निजामती सेवा ऐन तथा प्रदेश निजामती सेवा सम्बन्धी ऐन र विधेयकमा आवश्यक सुधार तथा संशोधनका विषयमा सुझाव दिन कर्मचारीलाई आग्रह गरे । ‘तपाईँहरूले दिनुभएको सुझावका आधारमा हामी राजनीतिक नेतृत्वले तल्लो तहसम्म समन्वय गरेर काम गर्छौँ,’ उनले भने । परियारले रोजगारीको ठुलो हिस्सा निजी क्षेत्रले समेटेकाले निजी क्षेत्रमा पनि आरक्षणको व्यवस्था हुनुपर्ने धारणा राखे । कुनै उद्योग वा कारखानामा एक हजार श्रमिक कार्यरत भए कम्तीमा एक सय जना दलित समुदायका व्यक्ति कार्यरत हुने व्यवस्था गर्न सके त्यसले समुदायको आर्थिक र सामाजिक सशक्तीकरणमा ठुलो योगदान पुग्ने उनको भनाइ थियो । उनले स्थानीय तह निर्वाचन ऐन, २०७४ मा प्रत्येक वडामा निर्वाचित हुने दुई महिला सदस्यमध्ये एक जना दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था समावेश गराउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गरेको पनि स्मरण गरे । ‘त्यति बेला संविधानसभा सदस्य जितु गौतम र अफिलाल उखेडाले पनि साथ दिनुभयो र हामी ऐनमा एक जना दलित महिला सदस्यको अनिवार्य व्यवस्था राख्न सफल भयौँ,’ उनले बताए ।