चितवन । लामो समयपछि चितवनमा पुनः लोडसेडिङ सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले भरतपुरस्थित १३२-३३ केभी सब(स्टेशनअन्तर्गतका तीनवटा मुख्य फिडरमा अत्यधिक लोड परेको जनाउँदै नियमित रूपमा विद्युत आपूर्ति अवरुद्ध गर्ने तालिका सार्वजनिक गरेको छ। असहज गर्मी र वर्षा नपरेका कारण माग अत्यधिक बढेको भन्दै प्राधिकरणले समयअनुसार बत्ती जाँदै आउने जनाएको हो।
नारायणी, मेघौली र जगतपुर क्षेत्रका विभिन्न स्थानमा बिहानदेखि रातिसम्म विभिन्न समयमा विद्युत आपूर्ति रोकिने तालिका जारी भएपछि स्थानीयवासी आक्रोशित भएका छन्। दैनिक जीवन प्रभावित हुनुका साथै व्यवसाय, उद्योग र स्वास्थ्य सेवामा समेत यसले समस्या निम्त्याएको छ। स्थानीय बासिन्दाहरूले यस्तो कटौतीले गर्मीमा झनै कष्टकर अवस्था बनाएको गुनासो गरेका छन्।
स्थानीय व्यवसायीहरूले पनि बिना पूर्वतयारी गरिएको लोडसेडिङले व्यापार र सेवा प्रवाहमा असर परेको भन्दै चाँडो समाधान खोज्न आग्रह गरेका छन्।
यद्यपि प्राधिकरणले तोकिएको समयभन्दा अगाडि नै विद्युत आपूर्ति हुन सक्ने जानकारी दिएको छ, तर नियमित सेवा प्रवाह नहुँदा जनमानसमा असन्तुष्टि बढ्दै गएको छ। उपभोक्ताहरूले लोड व्यवस्थापनका वैकल्पिक उपाय अवलम्बन गर्न र दीर्घकालीन समाधानतर्फ ध्यान दिन सरकार तथा प्राधिकरणलाई आग्रह गरेका छन्।