इलाममा मिलनको जमानत पनि जफत भएपछि रविले भने, ‘जित्न सकिएन, सिक्न सकियो’

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको हारलाई  स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध  गरेका छन् ।

प्रतिनिधि सभा सदस्य चयनका लागि यही वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बुले सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि उनको जमानत नै जफत भएको छ ।

सभापति लामिछानेले चुनाव जित्न नसकिएपछि सिक्न सकिएको भन्दै चित्त बुझाएका हुन् ।

उनले सो क्षेत्रबाट निर्वाचित एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई कार्यकाल सफलताको शुभकामनासहित जितको लागि बधाई ज्ञापन गरेका छन् ।

उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार  सुहाङ नेम्वाङ जी  विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्द्छु। हामीलाई मत दिनु हुने र मत संगै ठुलो संदेश दिनु हुने सबै प्रति आभारी छु। रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै If ,But को सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।’