कर्णाली सरकारबाट बाहिरिए कांग्रेसका मन्त्री, अब कांग्रेस नेतृत्वमा सरकार बन्न लागेको हो ?

  • बुधबार ३१ असार २०८३ १०:३४ AM
सुर्खेत । कर्णाली  प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार बिहान बसेको मन्त्रीपरिषद् बैठकमा कांग्रेसका मन्त्रीहरुले सामुहिक रुपमा मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन् ।  मुख्यमन्त्री यामलाल कँडेल हुँदा २०८१ साल साउनमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री भएका थिए ।  बुधबार बिहान सबै मन्त्रीले राजीनामा दिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । उनले आफूहरू सबै मन्त्रीले राजनीनामा दिएको र स्वीकृतिको पर्खाइमा रहेको बताए ।  उनीहरको मुख्यमन्त्री कँडेलले स्वीकृत गरेका छैनन् । सरकार बन्ने बेला यहाँ एमाले-कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। अहिले एमालेका कँडेलले सरकारको नेतृत्व गरिरहेका छन्। कांग्रेसले अब सरकारको नेतृत्व गर्ने आफ्नो पालो आएको दाबी गर्दै आएको छ। यसअघि बैशाखमै सुर्खेतमा भएको पार्टीको भेलामा कांग्रेस सभापति गगनकुमार थापाले अब कर्णालीमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने समय आएको बताएका थिए। कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि बसेको मन्त्रीपरिषद्को बैठकले छ वटा निर्णय गरेको छ ।  कर्णाली प्रदेश अनुगमन तथा मूल्याङ्कन विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, व्यवस्थापन परीक्षण निर्देशिका, २०८३ स्वीकृत गर्ने, निर्देशनालयको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्यसम्पादन गर्ने, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई थप जिम्मेवारी सहित कामकाजमा खटाउने, कर्णाली प्रदेश विउ बिजन नियमावली, २०८३ स्वीकृत गर्ने र सडक मर्मतसम्भार निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवत्ता विनोदकुमार शाहले बताए ।