रास्वपा सभापति लामिछानेद्वारा पूर्वी जिल्लामा शान्ति र संयमता अपनाउन अपिल

  • मङगलबार १२ साउन २०८३ ०७:३० PM
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा हालै घटेको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेका छन्।     सभापति लामिछानेद्वारा आज जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमार्फत उनले रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यलाई सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन समेत दिएका छन् । सभापति लामिछानेले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सदभाव खल्बलिने गतिविधि नगर्न तथा नगराउन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई आग्रह गरेका छन् । उनले उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आह्वान गरेका छन् । “यस संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, नागरिकको जीउधनको रक्षा गर्न र परिस्थिति सामान्यीकरण गर्न सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा छौ”, उनले विज्ञप्तिमा भनेका छन् ।  घटनाको मुख्य कारणसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई उचित न्याय र राहत उपलब्ध गराउन पनि उहाँले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । “घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग विशेष आग्रह गर्दछौ”, सभापति लामिछानेले विज्ञप्तिमा उल्लेख गरेका छन्।