आधुनिक निर्माण सामग्री हटाएर प्राचीन स्मारकहरुलाई परम्परागत निर्माण सामग्रीबाट पुनरुत्थान गर्दै वडा २३

काठमाडौँ । भौतिक सम्पदा स्थलहरुको संरक्षण, मर्मत तथा सम्भारका क्रममा विगतमा भएका त्रुटि सच्याउन काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले सर्वेक्षणको काम थालेको छ । प्राचीन सम्पदाका कुनै भाग टुटफुट भएमा त्यसलाई अड््याउन, थप बिग्रिन नदिन सिमेन्ट लगायत आधुनिक निर्माण सामग्री प्रयोग भएको छन् । ‘यो काम सम्पदाको जग, पर्खाल, पेटी, गजुर, छाना लगायत विभिन्न ठाउँमा भएका छन् । जानी नजानी गरिएका यस्ता त्रुटि सच्याउनका लागि काम थालिएको हो ।’ वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिनुभयो ।  महर्जनका अनुसार वडाभित्र किराँतकाल, लिच्छवीकालदेखिका भौतिक सिर्जनाहरु छन् । मन्दिर, चिबहा जस्ता हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित ८० वटा सम्पदा छन् । जीवित देवी श्रीकुमारीको निवास स्थान, नास द्यः, अट्को नारायण, जोर गणेश वडाका नाम चलेका सम्पदा हुन् । यी हरेक सम्पदासँग सम्बन्धित विशेष तथा वार्षिक पूजाआजासहितका धार्मिक र सामाजिक संस्कार सञ्चालन हुने गरेका छन् । उहाँ थप्दै भन्नुहुन्छ, ‘पुनरुत्थानका क्रममा आधुनिक निर्माण सामग्री हटाएर परम्परागत सामग्रीबाट मर्मतसम्भार गर्छौँ । हराएका वा जीर्ण भएका कारण हटाइएका बस्तु, सामग्री पुनस्थापना र संरचना भए पुननिर्माण गराउँछौँ ।