राष्ट्रपति कार्यालयबाट बसन्तपुर पुग्दै चाँगुनारायणको कलश यात्रा 

काठमाडौँ । चाँगुनारायणको कलश यात्रा राष्ट्रपति कार्यालयबाट बसन्तपुर फर्किने क्रममा छ । आज अपरान्ह चाँगुनारायणबाट मुलपानी चौर, दक्षिण ढोका, जोरपाटी, बौद्ध, चावहिल, कालोपुल, नक्साल, जमल हुँदै हनुमान ढोका पुगेको यात्रा त्यहाँ (बसन्तपुर)का धार्मिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलाप सकेर राष्ट्रपतिलाई छायाँदर्शन गराउन राष्ट्रपति भवन पुगेको थियो । यस क्रममा राष्ट्रपतिलाई कलशको जलमा भगवानको दर्शन गराइएको थियो ।   चाँगुनारायण मन्दिरका नाइके समीर भँडेलका अनुसार आज दिउँसो करिब १२ बजे देवता स्वरुपका कलश बोकेर पैदल यात्रा सुरु भएको थियो । कलश बोक्ने ३ जनाले परम्परागत भोटो र धोती लगाउने तथा सेतो रुमाल बोक्ने चलन छ । कलश बोक्नेहरु निराहार ब्रत बसेका शुद्ध हुन्छन् । कलश बोकेर मन्दिरदेखि नागदह आइपुगुञ्जेल लक्ष्मी, सरस्वती र नारायणको कलश छुट्टाछुट्टै बोकेर ल्याइन्छ । जब नागदह आइपुगिन्छ । त्यहाँबाट श्रद्धालुहरुले पूजा सुरु गर्नुहुन्छ । यसपछि छुट्टाछुट्टै ल्याइएका तीनवटा कलशलाई एकै ठाउँमा पारेर एकजनाले बोक्ने र बाँकी २ जनाले पूजा लिने चलन छ । यसपछि कलशलाई पालैपालो बोकिन्छ ।  कलश बोकर हिँड्ने परम्परागत बाटो छ । त्रिचन्द्र कलेज गेटबाट भित्र छिरेर जमलतर्फ रानीपोखरीको छेउमा रहेको मन्दिरमा कलश विसाइन्छ र पूजा गरिन्छ । जमलदेखि गुर्जुको पल्टनसहित बसन्तपुरसम्म मुख्य पुरोहितले नारायणको कलश बोक्नुहुन्छ । लक्ष्मी र सरस्वतीको कलश भँडेलले बोकेर लैजाने गरिन्छ ।  भँडेलका अनुसार बसन्तपुर पुगेपछि जीवित देवी श्रीकुमारीबाट स्वागत गर्ने परम्परा रहेको छ । जसअनुसार श्रीकुमारीले स्वागत गरेपछि तलेजु भवानीको मन्दिरमा विशेष पूजाआजा भएको थियो । यसपछि राष्ट्रपतिलाई छायाँ दर्शन गराउन कलशहरु शितल निवास लगिएको थियो । राष्ट्रपतिले छायाँ दर्शन गरेपछि अहिले कलशहरु वसन्तपुर फर्काइँदै छ ।  बसन्तपुरको नरसिंहको मूर्ति भएको ठाउँमा जल सेलाएपछि कलशहरु आज नै चाँगुनारायण फर्काइन्छ ।  चाँगुनारायणको कलश यात्रा लिच्छविकालीन परम्परा हो ।