ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण सुरु : तथ्यगत अवस्था बुझ्न कार्यवाहक प्रमुख स्थलगत अवलोकन निरीक्षणमा 

काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडाहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन आवश्यक पर्ने तथ्य संकलन र स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको हो ।  जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ । जसको कोही छैन अर्थात सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । साथमा परिवारका सदस्य त छन् । तर, आफूजस्तै अशक्त छन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको हो । सहरका कतिपय घरहरुमा शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न सकिरहनुभएको छैन ।