पाइलट पक्राउबारे बुद्ध एयरले भन्यो– पाइलटको विषय पारिवारिक विवाद
काठमाडौं । बुद्ध एयरले आफ्ना एक पाइलट प्रहरी हिरासतमा रहेको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिन समिति गठन गरेको जनाएको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक भएका समाचारअनुसार उक्त घटना पारिवारिक विवाद तथा झै–झगडासँग सम्बन्धित रहेको जानकारी प्राप्त भएको जनाएको छ । घटनाबारे सत्यतथ्य बुझ्न बुद्ध एयरले आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेकाले छानबिनको निष्कर्ष आएपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।
