विश्वकपको तेस्रो स्थान हासिल गरेर आफ्नो कार्यकाल सुखद् अन्त्य गर्न चाहान्छु : फ्रान्सेली प्रशिक्षक
काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध हुने खेल खेल्न आफूहरूको इच्छा नभए पनि कांस्य पदक जित्नु राष्ट्रिय टोलीको दायित्व भएको बताएका छन् । स्पेनसँग सेमिफाइनलमा २–० ले पराजित भएपछि लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको थियो । अब फ्रान्सले शनिबार अमेरिकाको मियामीमा इंग्ल्यान्डसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । खेलअघिको पत्रकार सम्मेलनमा डेसचाम्प्सले तेस्रो स्थानको खेल मैत्रीपूर्ण नभई आधिकारिक प्रतिस्पर्धा भएकाले टोलीले पूर्ण जिम्मेवारीका साथ खेल्नुपर्ने बताए ।
