बाढी–पहिरोको जोखिम बढेपछि बिपी राजमार्ग र कान्ति लोकपथमा राति सवारी रोक
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक हिलाम्मे भएका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरेको छ भने केही स्थानमा रातिको समयमा मात्रै सवारी सञ्चालनमा रोक लगाइएको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सञ्चालन हुने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरीका अनुसार बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
