‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
नेपालगन्ज । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प भएको छ । सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य छन् । रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्। अस्पतालमा दैनिक २५ भन्दा बढी बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए तर मेसिन बिग्रेपछि उनीहरू भारतका बहराइच, लखनउ, दिल्लीलगायतका अस्पतालमा उपचारका लागि जान बाध्य भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो । अस्पताल प्रशासनका अनुसार मेसिन मर्मत गर्ने प्राविधिक अस्पतालमा छैनन् । मेसिन आपूर्ति गर्ने कम्पनीले बाँकी भुक्तानी नपाएको भन्दै मर्मत गर्न अस्वीकार गरेपछि रेडियोथेरापी सेवा पुनः सञ्चालन अन्योलमा परेको हो । अस्पतालका अनुसार खरिद सम्झौतामा उल्लेख भएको एचएस कोड (एचएस कोड) र कन्ट्री अफ ओरिजिनभन्दा फरक विवरण भएको मेसिन आपूर्ति गरिएकाले सप्लायर्सको बाँकी भुक्तानी रोकिएको छ। भुक्तानी रोकिएपछि कम्पनीले मर्मतका लागि प्राविधिक नपठाएको अस्पताल प्रशासनको भनाइ छ ।
