रुपन्देही बालसुधार गृह तत्काल स्थानान्तरण गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रुपन्देहीस्थित बालसुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ । हाल सञ्चालनमा रहेको भवन साँघुरो र बालसुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रुपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो । आइतबार बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बालसुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले हाल बालसुधार गृह रहेको भवन जिल्ला समन्वय समिति रुपन्देहीलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरिन् ।
