SHARE
Samata Press · आइबार​ ३ साउन २०८३ ०६:३७ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसमम ९३ दशमलव ४७ प्रतिशत रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय, दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये शुक्रबारसम्म एक लाख ४४ हजार ८२९ हेक्टरमा रोपाइँ भएको हो । प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब ९६/९६ प्रतिशत रोपाइँ भएको छ । कैलालीमा ६६ हजार ८२० हेक्टरमध्ये ६४ हजार १४७ र कञ्चनपुरमा ४८ हजार ४९६ मध्ये ४६ हजार ५५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिए । उनका अनुसार पहाडी जिल्लामध्ये डडेल्धुरामा सबैभन्दा बढी ९५ दशमलव शून्य तीन प्रतिशत रोपाइँ भएको छ ।  दार्चुलामा ९१ दशमलव ७२, अछाममा ९०, बझाङमा ९१, बैतडीमा ९० दशमलव एक र बाजुरामा ९१ दशमलव ९८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका सूचना अधिकारी ज्ञानराज कँडेलले जानकारी दिए । प्रदेशका नौ जिल्लामध्ये डोटीमा सबैभन्दा कम ६० दशमलव एक प्रतिशत मात्रै रोपाइँ भएको छ । जिल्लामा धान रोप्न योग्य छ हजार ४२६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म तीन हजार ८५६ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको उनले जनकारी दिए । कृषि प्रसार अधिकृत पाण्डेले शनिबार र आजको विवरण अद्यावधिक गर्न बाँकी रहेको जनाउँदै मनसुन सक्रिय रहेकाले बाँकी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको बताए । सोमबारसम्म प्रदेशभर करिब ९७ प्रतिशत रोपाइँ सकिने अनुमान गरिएको उनको भनाइ छ ।