चार वर्षदेखि बेपत्ता छन् दुई हजार दुई सय बालबालिका
काठमाडौँ। पछिल्ला चार वर्षदेखि बेपत्ता रहेका दुई हजार दुई सय ५९ जना बालबालिका अहिलेसम्म पनि फेला परेका छैनन्। राष्ट्रिय बालअधिकार परिषद्का अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि २०८१/०८२ सम्म २ हजार २ सय ५९ जना बालबालिका बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ। हालै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ६४६ बालबालिका बेपत्ता भएका थिए। उनीहरूमध्ये ४ हजार ३९७ जना भेटिए। तर ५८ बालक र १९१ बालिका भने अहिलेसम्म पनि फेला परेका छैनन्। आर्थिक वर्ष २०७९/०८० मा ५ हजार ८२६ बालबालिका हराएका थिए। त्यसमध्ये ३ हजार ७ सय १३ जना फेला परे। तर अहिलेसम्म पनि १६४ बालक र ५१२ जना बालिका भने फेला परेका छैनन्। त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार १७९ जना हराएकामध्ये ५ हजार ८३१ फेला परे। ७५९ जना अहिलेसम्म पनि फेला परेका छैनन्। आर्थिक वर्ष २०८१/०८२ मा पनि ८ हजार १७९ जना बालबालिका हराएका थिए। ७ हजार ६०४ जना फेला परे भने ५७५ जना अहिले पनि फेला परेका छैनन्। यसरी चार वर्षको अवधिमा ५४४ बालक र १७५५ बालिकाको खोजी कार्य भइरहेको छ।
