सरकारको तीन महिने डेंगी सचेतना अभियान सुरू, देशैभर ‘खोज र नष्ट गर’ कार्यक्रम
काठमाडौँ । सरकारले देशैभर डेंगी रोगको सङ्क्रमण बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै आगामी तीन महिना (साउन, भदौ र असोज) सम्म 'डेंगी सचेतना तथा नियन्त्रण अभियान' थालेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार यो अभियान प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो । अभियानको मुख्य नारा 'हरेक शुक्रवार, सफा शुक्रवार' तय अभियानको मुख्य नारा 'हरेक शुक्रवार, सफा शुक्रवार' तय गरिएको छ । यसअन्तर्गत प्रत्येक शुक्रवार बिहान सरकारी तथा सार्वजनिक निकाय, कार्यालय, विद्यालय र सामुदायिक संस्थामा अनिवार्य रूपमा सरसफाइ गरी लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोज्ने र नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । स्थानीय तहको नेतृत्वमा वडा कार्यालय, स्वास्थ्य संस्था र टोल विकास संस्थालाई यस कार्यमा प्रत्यक्ष परिचालन गरिनेछ । स्थानीय समुदाय, युवा क्लब, स्वयंसेवक र विद्यार्थीलाई सक्रिय बनाउने सरकारले डेंगी नियन्त्रणका लागि स्थानीय समुदाय, युवा क्लब, स्वयंसेवक र विद्यार्थीलाई सक्रिय बनाउने योजना अघि सारेको छ । विद्यालयमा ‘साथी शिक्षा’ र सरसफाइ अभियान चलाइनेछ भने विद्यार्थी मार्फत घर घरमा डेंगी सचेतनाको सन्देश पुर्याइनेछ । यस्तै, होटेल, उद्योग र निजी व्यवसायीलाई पनि आफ्नो कार्यस्थल सफा राख्न र डिजिटल बोर्ड मार्फत सचेतना फैलाउन आह्वान गरिएको छ । अटो वर्कसप र निर्माण स्थलमा विशेष निगरानी लामखुट्टे बढी फैलिन सक्ने ठाउँ जस्तै: अटो वर्कसप, ग्यारेज, कवाडी सङ्कलन केन्द्र, निर्माणाधीन भवन र पानी जम्ने अन्य सम्भावित स्थानको नियमित अनुगमन गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ । टायर, खाली बट्टा र ड्रममा पानी जम्न नदिन र जमेको पानीको उचित निकास गर्न विशेष पहल गरिनेछ । सञ्चार र सचेतनाका कार्यक्रम डेंगी सम्बन्धी सही जानकारी फैलाउन स्थानीय एफएम रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल र पोस्टर पम्पलेटको प्रयोग गरिनेछ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट तयार गरिएका सन्देशलाई स्थानीय भाषामा अनुवाद गरी प्रचार प्रसार गर्ने व्यवस्था मिलाइएको छ ।
