अर्थमन्त्रीलाई बाइपास गर्दै अघि बढे प्रधानमन्त्री बालेन, आज शेयर बजारबारे छलफल
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लगातार बाइपास गर्दै प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आर्थिक क्षेत्रसँग प्रत्यक्ष संवादमा सक्रिय देखिएका छन् । पछिल्ला दिनमा निजी क्षेत्र, उद्योगी–व्यवसायी, ऊर्जा उद्यमी तथा विभिन्न आर्थिक क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्रीको सहभागिताबिनै छलफल गर्दै आएका प्रधानमन्त्री साहले सोमबार पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग पनि उच्चस्तरीय बैठक बोलाएका छन् । सरकारभित्र अर्थमन्त्रीको भूमिका कमजोर बनाउने र राजनीतिक दबाब बढाउने रणनीति हो कि भन्ने चर्चा सत्ता वृत्तमा चुलिएको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन ।
