बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
नेपालगन्ज । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैधरूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा त्यस नाकाबाट बरामद गरिएका सामानमध्ये रु ११ करोड ७१ लाख ६३ हजार ४६४ बराबरका सामग्री भन्सार कार्यालयमा दाखिला गरिएको छ । यस अवधिमा रु २२ लाख ४८ हजार बराबरको काठ बरामद गरिएको पनि उनले जानकारी दिए । त्यस्तै रु ८५ लाख २३ हजार मूल्य बराबरका केही सामग्री भने नष्ट गरिएको सशस्त्र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी गणले रु ६० लाख ९६ हजार ६६३ स्रोत नखुलेको रकम बरामद गरेको थियो । वन्यजन्तुसम्बन्धी ओखेटोपहार करिब रु २१ लाख बराबर बरामद भएको प्रतिवेदनमा जनाइएको छ । सशस्त्र प्रहरी बलले सामान ओसारपसारमा सङ्लग्न भएका २१ जना पक्राउ गरेको थियो । पछिल्लो समय लागुऔषध नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले सक्रियता देखाएको छ ।
