खेललाई राजनीतिजस्तो नबनाऔँः गायक शिव परियार
काठमाडौँ । गायक शिव परियारले विश्वकप फुटबल २०२६ को सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफू क्रिस्टियानो रोनाल्डोका शुभचिन्तक भए पनि स्पेनको जितमा खुसी भएको बताएका छन् । फेसबुक स्टाटसमा उनले आफू कसैको हार वा आँसुमा खुसी नभएको स्पष्ट पार्दै रोनाल्डोका समर्थकमा संवेदनशीलता हुनुपर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, 'आज हामी कसैको रुवाइ वा आँसुमा मुस्कुराएका होइनौं । हामी स्पेनको जितमा खुसी भएका हौँ ।' परियारले पोर्चुगल आफ्नै टोलीभित्रको असमझदारीका कारण प्रतियोगिताबाट बाहिरिएको टिप्पणी गर्दै हार-जित खेलको स्वाभाविक नियम भएको स्वीकार गरेका छन् । उनका अनुसार स्पेनले उत्कृष्ट प्रदर्शन गरेको थियो । उनले खेलपछि भावुक बनेका रोनाल्डोलाई स्पेनका युवा खेलाडी लामिन यामाल ले हार-जितभन्दा माथि उठेर अंकमाल गरेको दृश्यले आफूलाई सबैभन्दा बढी छोएको उल्लेख गरेका छन् । यही मानवीय व्यवहारका कारण यसपटक आफूले स्पेनलाई समर्थन गरेको पनि उनले बताएका छन् । साथै, परियारले सामाजिक सञ्जालमा आफ्ना मनपर्ने खेलाडीको समर्थन गर्ने नाममा अन्य खेलाडी वा समर्थकको अपमान गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् । उनले आफ्ना खेलाडीलाई माया गर्दा अरूको अस्तित्व र सम्मानको अवमूल्यन नगर्न आग्रह गरेका छन् । स्टाटसको अन्त्यमा उनले नेपालसहित विश्वका सबै खेलाडीप्रति सम्मान व्यक्त गर्दै खेल संस्कृतिमा सदाशयता, संयमता र आपसी सम्मान आवश्यक रहेको धारणा राखेका छन् ।
