SHARE
Samata Press · सोमबार ४ साउन २०८३ ०७:४६ PM · 1 मिनेट पढाइ

नियमावलीले होइन, शिक्षा ऐनले शिक्षकका समस्या समाधान गर्छ : आङ्देम्बे  

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शिक्षकका समस्या समाधानका लागि विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने बताएका छन् । नियमावली संशोधन गरेर शिक्षकका समस्या समाधान नहुने भन्दै उनले विधेयक पारित गराउन कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रियसभा र संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल शिक्षक संघको टोलीले सरकारले हालै संशोधन गरेको शिक्षा नियमावलीले शिक्षकका समस्या समाधान गर्नुको सट्टा झन् बल्झाएको, विशेषगरी सरुवा प्रक्रिया थप जटिल बनाएको भन्दै आङ्देम्बेको ध्यानाकर्षण गराएको थियो । सो क्रममा आङ्देम्बेले शिक्षकका मागप्रति कांग्रेस गम्भीर रहेको बताए । ‘तपाईंहरूका मुद्दाप्रति नेपाली कांग्रेस संवेदनशील र गम्भीर छ । नियमावली संशोधन गरेर मात्रै हुँदैन, ऐन नै चाहिन्छ, त्यसका लागि कांग्रेस दुवै सदन र समितिमा हुने दफावार छलफलमा सरिक हुन्छ,’ उनले भने, ‘ऐनका लागि अब दह्रो लडाइँ लड्नुपर्ने अवस्था छ ।’ उनले विगतमा कांग्रेसले शिक्षकका मुद्दालाई पर्याप्त प्राथमिकता दिन नसकेको स्वीकार गर्दै अब विद्यालय शिक्षा ऐन जारी गराउने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले शिक्षा क्षेत्रका अधिकांश समस्या विद्यालय शिक्षा विधेयक लामो समयदेखि रोकिँदा उत्पन्न भएको बताए । अघिल्लो प्रतिनिधि सभाले सबै राजनीतिक दलको सहमतिमा अघि बढाएको विधेयक अझै जारी हुन नसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।‘विद्यालय शिक्षा ऐन तुरुन्त जारी हुनुपर्छ । ऐन आयो भने शिक्षकका धेरै समस्या समाधान हुन्छन्’ उनले भने । गिरीले बजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारी र अधिकांश शिक्षकको तलब बढाइए पनि बालशिक्षामा बढाउने सहायक कार्यकर्ता, विद्यालय कर्मचारी तथा शिक्षण–सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब नबढाएर सरकारले शत्रूतापूर्ण व्यवहार गरेको बताएका थिए । नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक महासंघको अधिकार संकुचित बनाउने प्रयास भएको र मन्त्रिपरिषद्बाट यसअघि अनुमोदित शिक्षकसँग सम्बन्धित नौबुँदे सहमति अझै कार्यान्वयन नभएको पनि बताए ।