३ अर्बको ऋणपत्र निष्कासन गर्दै लक्ष्मी सनराइज बैंक
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लगानीकर्तालाई लक्षित गर्दै ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर निष्कासन गर्ने भएको छ । बैंकले ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नाममा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र साउन १४ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो । बैंकका अनुसार कुल निष्कासित ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट)बाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ । सार्वजनिक बिक्रीतर्फ छुट्याइएकोमध्ये ६० हजार कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोष (म्युचुअल फन्ड)का लागि सुरक्षित गरिएको छ ।
