SHARE
Samata Press · मङगलबार ५ साउन २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

हामी त्याग गर्न तयार छौँ, पार्टी एकताबद्ध हुन्छ भने मलाई कुनै पद चाहिदैन : गुरु बराल

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी अहिले गम्भीर विवाद, अन्योल र अस्थिरताको भुमरीमा फसेको बताएका छन् ।  उनले पार्टीभित्रको आन्तरिक कलह र विभाजनले प्रजातान्त्रिक व्यवस्था मात्र नभई मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामाथि नै गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता बरालले विगत ८–१० महिनादेखि कांग्रेसलाई यो संकटबाट निकाल्ने प्रयास भइरहेको जानकारी दिए । ‘नेपाली कांग्रेस विभाजित हुँदा हिजोका दिनमा व्यवस्थामाथि अप्ठ्यारो परेको थियो, तर अहिले त्योभन्दा विषम परिस्थिति छ,‘ उनले भने, ‘कांग्रेस विभाजन भएर कमजोर भयो भने राष्ट्रियतामाथि काला बादलहरू मडारिने संकेत देखिँदैछ । त्यसैले नेतृत्व तहबाट पार्टी एक गराउने सही कदमको हामी प्रतीक्षा गरिरहेका छौँ ।’ नेता बरालले पार्टीको वर्तमान नेतृत्व, विशेषगरी सभापति गगन थापा र उनको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले पार्टीलाई गोलचक्करमा फसाएको र आत्मबोधको कमीका कारण मुलुक नै गतिहीन र गन्तव्यहीन बनेको तर्क गरे । उनले भने, ‘हामी विभाजित हुँदा यो देशको मेरुदण्ड मानिएको नेपाली कांग्रेस कमजोर भएको छ । मेरुदण्ड नै कमजोर भएपछि न व्यवस्था बलियो हुन्छ, न राष्ट्रियता’ पार्टीको क्रियाशील सदस्यता विवादका सम्बन्धमा उनले कडा टिप्पणी गरे ।  सभापति थापाले जनकपुरमा आयोजित एक कार्यक्रममा आवेगमा आएर सम्पूर्ण क्रियाशील सदस्यता खारेज गर्ने घोषणा गर्नुलाई उनले हुकुमी शैलीको संज्ञा दिए । कांग्रेसको विधान अनुसार नेतृत्वमा पुग्न निश्चित वर्षको निरन्तर क्रियाशील सदस्यता चाहिने व्यवस्था उल्लेख गर्दै उनले भने, ‘क्रियाशील सदस्य कसैले खारेज गरेर खारेज हुँदैनन् । यदि सबै खारेज भएको मान्ने हो भने नेतृत्वकै १५ वर्षे निरन्तरतामा प्रश्न उठ्छ र उहाँहरू आफैँ पनि खारेज हुनुहुन्छ ।’ अहिले अद्यावधिकका नाममा देशभर आतंक सिर्जना गरिएको उनको ठहर छ । बरालले कांग्रेस अहिले विपी कोइरालाको आदर्श र विपी–वादबाट विमुख भएकोमा पनि रोष प्रकट गरे । सरकारका जनविरोधी गतिविधि, शिक्षा र स्वास्थ्यमा लगाइएको कर र राष्ट्रियताका सवालमा कांग्रेसको आवाज कमजोर भएको उनको दाबी छ ।  ‘सानेपामा नेतृत्व गर्ने साथीहरू सरकारका साझेदार हुन् कि दर्शक मात्र हुन् भन्ने छुट्याउन गाह्रो भएको छ,‘ उनले थपे, ‘संसद्मा कांग्रेसको आवाज सत्ताको छायाँ जस्तो देखिएको छ ।’ नेता बरालले १५औँ महाधिवेशनका लागि चुनदेवीमा सम्पर्क कार्यालय खोल्नुलाई नयाँ पार्टी खोल्ने तयारीका रूपमा नलिन आग्रह गरेका छन् । उनले यो केवल समान विचार भएका साथीहरूबीचको तयारी मात्र भएको प्रष्ट पारे । तथापि, सार्थक संवादको अभावमा पार्टी एकता संकटमा परेको उनले स्वीकार गरे । नेतृत्वले तीन लाइनको इमानदार वक्तव्य निकालेर विपी–वादमा फर्कने र अधिवेशनको विश्वसनीय वातावरण बनाउने प्रतिबद्धता जनाए मात्र समस्या समाधान हुने उनको विश्वास छ । पार्टी नेतृत्वको भविष्यका बारेमा बोल्दै बरालले कांग्रेससँग अनुभवी र निष्कलङ्क नेताहरूको कमी नभएको बताए ।