SHARE
कालिका खबर · मङगलबार ५ साउन २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै शिक्षा क्षेत्रमा अमेरिकी सरकारको तर्फबाट प्राप्त सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवर्द्धन तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यबारे छलफल भएको थियो । अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएको छ ।