सङ्घर्षले खारिएका पुरन : जो परदेशमा नेपालीका लागि ‘अभिभावक’ बनेका छन्
(गुजरात) भारत । संसारमा मानिसको पहिचान उसको नामले मात्र होइन, कामले पनि निर्माण हुन्छ । अझ परदेशको भूमिमा आफ्नो खुट्टामा उभिएर अरू हजारौँ नेपालीका लागि आशाको दियो बन्नु कम चुनौतीपूर्ण छैन । कैलालीको जानकी गाउँपालिका–९ का ३५ वर्षीय पुरन परियार आज भारतको गुजरातस्थित राजकोटमा यस्तै एउटा परिचित नाम बनेका छन् । पुरनको यात्रा आज जति सुनिँदा सहज लाग्छ, यसको पृष्ठभूमि उत्तिकै पीडादायी र सङ्घर्षपूर्ण छ । झन्डै दुई दशकअघि नेपालमा जनयुद्धको चरम अवस्था थियो । गरिबी र असुरक्षाका बिच ज्यान जोगाउनु नै सबैभन्दा ठुलो प्राथमिकता थियो । 'त्यति बेला पढाइभन्दा पनि ज्यान जोगाउनु ठुलो थियो,' पुरन विगत सम्झिन्छन्, 'द्वन्द्व र अभावले लखेटिएपछि भविष्य खोज्दै भारत पसेको थिएँ ।' अछामको दर्नासँग पैतृक साइनो जोडिएका पुरनको बाल्यकाल त्यहीँ बित्यो । १७ वर्षको उमेरसम्म अछामकै डाँडाकाँडामा रमाएका उनी अन्ततः विवशताको झोला बोकेर मुम्बई पुगे । मुम्बईको गोरे गाउँ र मलाड जस्ता व्यस्त गल्लीमा उनले ७ वर्ष बिताए । सुरुमा होटेलमा काम गर्दा उनले भोगेका सास्ती र चुनौतीले नै उनलाई पछि गएर केही गर्ने हिम्मत दियो । दिवङ्गत दाजु 'निरु'को सम्झनामा 'निरु दर्नाली टुर एन्ड ट्राभल्स' मुम्बईमा रहँदा उनले कञ्चनपुरका पवन विश्वकर्माको साथ पाए, जसलाई पुरन आफ्नो अभिभावक मान्छन् । होटेल व्यवस्थापनमा अनुभव बटुल्दै गर्दा उनलाई राजकोटले लोभ्यायो । सन् २०१४ मा उनी राजकोट आए र यहाँबाट उनको जीवनले नयाँ मोड लियो । अहिले पुरन 'निरु दर्नाली टुर एन्ड ट्राभल्स' का सञ्चालक हुन् । यो व्यवसाय मात्र होइन, उनको भावनात्मक सम्बन्ध पनि हो । आफ्ना दिवङ्गत दाजु निरुको सम्झनामा उनले यस ट्राभल्सको नाम राखेका हुन् । 'दाजुको नाम सधैँ जीवित रहोस् भनेर यो नाम राखेको हुँ,' उनी भावुक हुँदै भन्छन् । ५ वर्षदेखि सञ्चालित यो ट्राभल्सले राजकोटलाई भारतका विभिन्न सहर र नेपालका सुदूरपश्चिमका नाकासँग जोड्ने काम गरिरहेको छ । मोरबी, जुनागढ, जामनगर, अहमदाबाददेखि लिएर नेपालका धनगढी, टिकापुर र नेपालगन्जसम्मको यात्रालाई उनले सहज बनाइदिएका छन् । प्रवासमा व्यवसाय सञ्चालन गर्नु आफैँमा काँडाको बाटो हो । कानुनी प्रक्रिया, दर्ता र स्थानीय प्रशासनसँगको समन्वयमा धेरै बाधा अड्चन आउँछन् । हाल उनले नेपालमा दर्ता गरेर यो सेवा दिइरहेका छन् भने भारततर्फ पनि एलपीजी प्रक्रियामार्फत कानुनी रूपमा अघि बढ्ने तयारीमा छन् । उनी भन्छन्, 'हाम्रो मुख्य उद्देश्य भनेको परदेशमा रहेका नेपाली दाजुभाइलाई सुरक्षित र सुलभ रूपमा घरसम्म पुर्याउनु हो ।' आज उनको ट्राभल्स प्रवासी नेपालीका लागि घर जाने भरपर्दो माध्यम बनेको छ । बिरामी परेका नेपालीका लागि उनीहरू सहारा: कोरोना कालका ‘हिरो’ पुरन परियारको अर्को र महत्त्वपूर्ण पाटो भनेको 'क्रिएटिभ युवा क्लब, राजकोट'को उपाध्यक्षको जिम्मेवारी हो । व्यवसाय त बाँच्ने आधार मात्र भयो, तर उनको परिचयको आयतन त समाजसेवाले फैलाएको छ । विशेष गरी कोरोना महामारीको बेला जब संसार ठप्प थियो, पुरन र उनको टोली राजकोटका सडक र अस्पतालमा सक्रिय थियो । लकडाउनको समयमा काम गुमाएका, खान नपाएका र बिरामी परेका नेपालीका लागि उनीहरू सहारा बने । 'कति नेपालीले अस्पतालको ठेगाना थाहा पाउँदैनथे, कतिसँग औषधि खाने पैसा हुँदैनथ्यो,' पुरन सम्झिन्छन्, 'हामीले व्यक्तिगत रूपमा रकम सङ्कलन गरेर रासन वितरण गर्यौँ । घर जान नपाएर अलपत्र परेकालाई खाना र बासको व्यवस्था मिलायौँ ।' कोरोना कालमा ज्यान गुमाएका तर आफन्त नभएका कतिपय नेपालीको दाहसंस्कार समेत पुरनको टोलीले गर्यो । लावारिस बनेका शवको व्यवस्थापन गर्दाको अनुभव निकै मर्माहत र चुनौतीपूर्ण रहेको उनी बताउँछन् । 'हामी पनि मान्छे हौँ, डर र गन्ध त आउँछ नि, तर ती पनि हाम्रै नेपाली दाजुभाइ हुन् भन्ने सोचेर हामी पछि हटेनौँ,' उनले क्लबका सदस्य राहुल विश्वकर्माको योगदानलाई सम्झँदै भने । पुरनको समाजसेवाको सूचीमा एउटा यस्तो घटना छ, जसले उनको मानवीयतालाई अझ प्रस्ट पार्छ । अछामका एक व्यक्ति मुम्बई जाने क्रममा रेल दुर्घटनामा परे । उनकी श्रीमतीको पहिले नै मृत्यु भइसकेको थियो । उनका साना बालक राजकोटमा एक भारतीय नागरिकको संरक्षणमा काम गरिरहेका थिए । जब पुरनको टोलीलाई बालकको अवस्थाबारे थाहा भयो, उनीहरू उद्धारका लागि पुगे । तर, ती भारतीयले 'यो बच्चा मलाई बेचेर गएका हुन्' भन्दै बच्चा दिन मानेनन् । पुरन र उनको क्रिएटिभ युवा क्लबको टोलीले प्रहरी र कानुनी प्रक्रियामार्फत ती बालकलाई सुरक्षित उद्धार गरेर नेपाल पठाउन सफल भए । 'पाँच वर्षसम्म ती बालकलाई चर्को श्रममा लगाइएको रहेछ, राती २ बजेसम्म काम गराइँदो रहेछ,' पुरनले भने, 'उनलाई उद्धार गरेर आफन्तको जिम्मा लगाउन पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सकिँदैन ।' क्रिएटिभ युवा क्लबमार्फत संस्कृति र खेलकुदको प्रवर्द्धन पुरनको सक्रियता केवल दुःखमा मात्र होइन, प्रवासी नेपालीको खुसीमा पनि उत्तिकै छ । राजकोटमा नेपाली कला र संस्कृतिलाई बचाउन उनले विभिन्न कार्यक्रम गर्दै आएका छन् । क्रिएटिभ युवा क्लबमार्फत उनले राजेश हमाल, बिराज भट्ट, निखिल उप्रेती, दुर्गेश थापा, प्रकाश सपुत जस्ता नेपालका नामुद कलाकारलाई राजकोटमा निम्त्याएर सांस्कृतिक कार्यक्रम आयोजना गरिसकेका छन् । यसका साथै फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता आयोजना गरेर युवालाई खेलकुदमा जोड्ने काम पनि उनले गरिरहेका छन् । आफ्नै ट्राभल्सको नाममा फुटबल प्रतियोगिता आयोजना गरेर प्रथम पुरस्कार समेत उनीहरूकै क्लबले जितेको थियो । उनी भन्छन्, 'परदेशमा भए पनि आफ्नो भाषा, संस्कृति र खेलकुद बिर्सनु हुँदैन ।' नेपाल फर्किने भन्दा पनि परदेशमै बसेर समस्यामा परेका नेपालीको सेवा गर्ने योजना पुरन परियारको नेतृत्वमा अहिले राजकोटमा नेपाली सङ्गठित छन् । क्रिएटिभ युवा क्लबका अध्यक्ष सुनिल ताम्राकार, संस्थापक अर्जुन बिके र अन्य सदस्यसँग मिलेर उनी राजकोटमा नेपालीका लागि एक 'हेल्प डेस्क' जस्तै बनेका छन् । अस्पताल होस् वा प्रहरी चौकी, कुनै पनि नेपाली अप्ठ्यारोमा पर्ने बित्तिकै पुरनको मोबाइलमा घण्टी बज्छ । 'अहिले राजकोटमा धेरै बिचौलिया पनि छन्, जो सेवाको नाममा मेवा खान खोज्छन् । हामी त्यस्ता व्यक्तिबाट नेपालीलाई बचाउन चाहन्छौँ,' उनले अठोटका साथ भने । तत्काल नेपाल फर्किने भन्दा पनि परदेशमै बसेर समस्यामा परेका नेपालीको सेवा गर्ने उनको योजना छ । पुरन परियारको ३५ वर्षे जीवन एउटा खुल्ला किताब जस्तै छ, जहाँ सङ्घर्षका पाना धेरै छन् तर प्रत्येक पानामा सफलता र परोपकारको मसी भरिएको छ । कैलालीको एउटा गाउँबाट सुरु भएको यात्रा आज राजकोटको एउटा प्रतिष्ठित व्यवसायी र समाजसेवीका रूपमा स्थापित भएको छ । आफ्नो पसिनाको मूल्य बुझेका पुरन, अरूको आँसु पुछ्न सधैँ तत्पर रहन्छन् । उनको यो यात्रा धेरै प्रवासी नेपालीका लागि प्रेरणाको स्रोत हो । साथै सङ्घर्षबाट नभाग्ने र आफ्नो जरा (नेपाल र नेपालीपन) नबिर्सने हो भने परदेशको भूमिमा पनि सम्मान र सफलता दुवै प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण पनि हो ।
