SHARE
Samata Press · बुधबार ६ साउन २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

बीपीको सपना : समावेशी लोकतन्त्र, समावेशी नेपाल

कुनै पनि विमति हुन सक्दैन, नेपाली काँग्रेसका संस्थापक नेता महामानव बीपी कोइराला काँग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष थिए र रहनेछन् । उनी यथास्थितिवादी राजनीतिका एक यथास्थितिवादी नेता थिएनन, बरु देश, काल, परिस्थिति र अन्तर्राष्ट्रिय परिवेशअनुसार आफूलाई परिमार्जित गर्ने एक युगान्तकारी व्यक्तित्व थिए ।  सोसलिस्ट इन्टरनेशनलसमेतलाई वैचारिक नेतृत्व प्रदान गर्ने हैसियत राख्ने बीपी विचार र दर्शनका आधारमा विद्यमान राजनीतिलाई गति दिनसक्ने तथा समयानुकुल मोडेर तार्किक निष्कर्षमा पुर्‍याउन सक्ने राजनेता थिए ।  समकालीन विश्व राजनीतिमा उनी यति प्रभावशाली मानिन्थे कि कुनै अमुक विषयमा बिपिको विचार के हुने भन्ने कुरा अन्तर्राष्ट्रिय जगतका लागि चासोको विषय हुने गर्दथ्यो । अद्भूत क्षमता र व्यवहार कुशलताका धनी बीपी अन्तर्राष्ट्रिय स्तरको राजनेताका रुपमा सुपरिचित हुन सके । निश्चय पनि नेपाल र नेपालीका लागि यो गौरवको विषय हो । आज उनै महामानवको ४४ औं स्मृति दिवस हो । यो आलेखमार्फत केही कुरा उनकै सन्दर्भमा यहाँ चर्चा गर्ने प्रयत्न गरिएको छ ।   नेपालको राजनीतिमा बीपी कोइराला एउटा युगद्रष्टा व्यक्तित्व प्रमाणित भएका छन् भनेर भनियो भने अतिशयोक्ति हुने छैन । उनले उन्नत र समृद्ध मुलुकको सपना देख्नेमात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने परिकल्पनासहितको योजनाको खाका पनि बनाएका थिए । झण्डै १८ महिने उनको प्रधानमन्त्रीत्वकाल प्रजातान्त्रिक अभ्यासका लागि स्वर्णकाल मानिन्छ ।  यो अवधि देशको आधुनिकीकरण अनि विकासको दिशामा एउटा प्रस्थानबिन्दु मात्रै थिएन,बरु त्यो प्रस्ट दृष्टिकोण र दूरदृष्टिपूर्ण राजनीतिको एउटा सुरुआत पनि थियो भन्दा अस्वभाविक हुँदैन ।  विश्व समाजवादी आन्दोलनका एक प्रखर नेता बीपीको नेतृत्वमा नेपालमा समाजवादको मौलिकीकरणको गर्भरचना हुन सकेको थियो र देशको एउटा भविष्यरेखा कोरिएको थियो । आज नेपालको विकासको खाका बीपीकै चिन्तनमा आधारित छ भन्दा असङ्गत ठहर्दैन् ।   आज देशमा ‘समावेशीकरण’को निकै चर्चा हुने गरेको छ । आज देशको प्रधानमन्त्री नै मधेशी समुदाय अर्थात समावेशीकरण समूहबाट हुने अवस्थाको सिर्जना भएको छ । यो अलग कुरा हो, समावेशी समूहबाट प्रधानमन्त्री बन्ने बीपीको पार्टी नेपाली काँग्रेस स्वयंले भने प्राप्त गर्न सकेन तर, देशमा समावेशीको अवधारणाले सार्थक अर्थ प्राप्त गर्न सकेको भने बीपीकै कारणले हो भन्दा गलत नठहरिएला ।  उनले जनताकेन्द्रित राजनीतिका आधारमा नेपाली समाज र भूगोललाई जोड्ने कालजयी प्रयास गरेका थिए । राजनीतिलाई नयाँ अर्थ प्रदान गर्ने सन्दर्भमा वहिष्करणमा परेका जात, समुदाय र भुगोललाई राज्यको मूलधारमा प्रवाहीकरण गर्ने अवधारणा कार्यान्वयनको प्रयास उनैले थालेका हुन् ।  आज समावेशीका नाममा राजनीति गर्नेले बुझ्नु जरुरी छ, बीपीले उतिबेलै समावेशी सिद्धान्तको प्रतिपादन मात्र होइन कार्यान्वयन नै गरेका थिए र राष्ट्र निर्माणको प्रक्रियालाई सही दिशामा डोर्याउने प्रयत्न गरेका थिए । आज समावेशीकरणको कुरा जति भएको छ, त्यसको आधार बीपीले २०१५ सालमै खडा गरेका हुन भनेर भन्नु असंगत हुँदैन ।  उनको मन्त्रिमण्डल र उनको प्रधानमन्त्रित्वकालमा भएका विभिन्न नियुक्तिहरु हेर्दा देशको सबै भूगोल, जातजाति, वर्ग समुदायको प्रतिनिधित्व भएको पाइन्छ । बीपीले समावेशीकरणसम्बन्धी अवधारणा कार्यान्वयनलाई सामाजिक न्याय स्थापनाको मार्गमा एक औजारका रुपमा प्रयोग गर्ने प्रयत्न गरेका थिए । उनीपछिका दिनमा यो अवधारणाको कार्यान्वयनले निरन्तरता प्राप्त गर्न सकेन ।  कतिसम्म भने उनकै पार्टीले पनि उनको अवधारणालाई महत्व दिएन, नेपाली कांग्रेस समाजवेशीकरणको अभियानबाट निकै टाढियो । अलिअलि भएको देखिए पनि ती नेताको निकटस्थको आरोपबाट मुक्त हुन सकेनन् । फलतः समावेशी अवधारणाका आधारमा लामो समयसम्म देशको कार्यकारी प्रमुख बन्नसक्ने अवस्थाको निर्माण हुन सकेन, यसका लागि निकै कुर्नुपर्यो ।  बीपी चिन्तनको विश्लेषणका आधारमा भन्न सकिन्छ, उनको आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त थियो । यो अवस्था प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने कुरामा उनी दृढ विश्वस्त थिए । कुनै दुईमत छैन, बीपीको यही दृढता नै आजको नेपाली राजनीतिको मार्गदर्शनको सिद्धान्त हो । त्यो बेला नेपाली काँग्रेसले अख्तियार गरेका धेरै नीतिहरू काँग्रेसको गर्भसिद्धान्त अर्थात समाजवादी दर्शनका बिम्ब हुन् ।  राजनीतिक दृष्टिकोण र बदलिँदो विश्व राजनीतिका कारण राष्ट्रनिर्माणका लागि राष्ट्रिय एकताको आवश्यकता जहिले पनि पर्दछ । यही राष्ट्रिय एकताको निर्माण र प्रवद्र्धनका दिशामा समावेशी अवधारणा एक महत्वपूर्ण संयन्त्र हुनसक्छ भन्ने उनको स्पष्ट बुझाइ थियो । उनको विश्वास थियो, सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार तयार पार्छ । समावेशी र वहुलवादी अवधारणा, सामूहिक भावनाको विकास गर्ने यस्तै संयन्त्र हुन भन्ने कुरामा शंका छैन ।  बीपीको सरकारले अंगिकार गरेको समाजवादी आर्थिक नीति, रणनीति र कार्ययोजनाहरुको विम्बात्मक तरिकाले विश्लेषण गरिएका खण्डमा उनले सामुहिक र समावेशी नीतिका आधारमा नै देशको विकासलाई गति दिन चाहेको देखिन्छ ।  यतिमात्र होइन उनले कोरेको विकासको खाका पनि समावेशीमैत्री रहेको स्पष्ट छ । उनले मधेशमा हुलाकी सडक र पहाड हिमालमा पहाडी मार्ग उत्तर दक्षिण सडक निर्माणमा जोड दिए । यसको अर्थ स्पष्ट थियो–बढीभन्दा बढी जनतालाई एकापसमा जोडिने अवसरको सिर्जना गरिनुपर्छ । नेपालका भूगोलहरु सहज ढंगले जोडिनुपर्छ । अल्पसंख्यक पनि देशका गहना हुन उनीहरुलाई पनि चम्किने अवसर प्राप्त हुनुपर्छ ।