SHARE
Samata Press · बुधबार ६ साउन २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

बीपी स्मृति दिवस : कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोष घोषणा

काठमाडौँ। नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ। ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गरेका हुन्। प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गरी मुकेश बहादुर पाल प्रथम भएका छन्। उनलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरेका थिए। त्यसैगरी दोस्रो भएका नरेन्द्र सिंह रावललाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ। प्रतियोगितामा चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौँ भएका अमृत ठकुरीलाई १० हजार र छैटौँ भएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा सहभागिताका लागि झण्डै १४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावन मार्ग छोडेर दौडेकाले उनीहरूलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ। ग्रीन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगी भएका थिए भने अन्य सयौँले अप्रतियोगीका रूपमा सहभागिता जनाएका थिए। ग्रीन रन प्रतियोगितापछि जाउलाखेलमा जलवायु परिवर्तन सम्बन्धी विज्ञहरूका बीचमा छलफल कार्यक्रमसमेत आयोजना गरिएको थियो। पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र सतर्कताको आवश्यकता रहेकोमा जोड दिइएको थियो। प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्नसमेत लागेको सभापति थापाले बताए। 'अहिले हामी जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न पनि यहाँ उभिएका छौं। यसका बारेमा हामी बृहत् कार्यक्रमको तयारी गरेका छौं,' सभापति थापाले भने। जङ्गल, जमिन लगायतका प्राकृतिक स्रोतसाधनलाई संरक्षण गर्नुपर्ने र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपी कोइरालाले त्यतिबेलै ल्याएको सभापति थापाले स्मरण गराए। जननायक बीपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोतसाधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले अहिले फेरि संकल्प गरेको उनको भनाइ थियो। 'समावेशिताको अवधारणालाई पनि सात दशकअघि नै कांग्रेस संस्थापक नेता कोइरालाले व्यवहारमै लागू गराएर हामीलाई सिकाएका छन्, त्यसप्रति पनि हामी पूर्ण प्रतिबद्ध छौं,' सभापति थापाले भने। सो अवसरमा जलवायु परिवर्तन सम्बन्धी चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। सबै कार्यक्रममा सहभागीहरूलाई विभिन्न जातका बिरुवासमेत वितरण गरिएको थियो। बिरुवा वितरण कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी रहने कांग्रेसले जनाएको छ। १० लाख रुपैयाँको मानव कल्याण कोष स्थापना कांग्रेसले आजै मानव सहायता कल्याण कोष स्थापनाको घोषणा पनि गरेको छ। कोषको घोषणा गर्दै सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकालाई सहयोग गरिने जानकारी दिए। कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उनले बताए। कोषका बारेमा विस्तृत जानकारी र पार्टीका अन्य राजनीतिक विषय तथा अभियानका बारेमा भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरिने पनि सभापति थापाले जानकारी दिए। कांग्रेसले भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रमहरूको घोषणा गर्ने जनाएको छ।