डोटीमा बन्थडी देवताको ‘भराण’ ढल्यो, संरक्षणमा ढिलाइ भएको स्थानीयको आरोप; पुनर्निर्माणका लागि चन्दा अभियान
दिपायल । डोटिको शिखर नगरपालिका–७ मा रहेको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बन्थडी देवताको ‘भराण’ ढलेपछि स्थानीयवासीले संरक्षणमा सम्बन्धित निकायले समयमै प्रभावकारी पहल नगरेको आरोप लगाएका छन्। जोखिममा रहेको जानकारी यसअघि नै स्थानीय सरकारलाई गराइएको भए पनि आवश्यक मर्मत तथा संरक्षण हुन नसक्दा संरचना ढल्न पुगेको स्थानीयवासीको भनाइ छ। स्थानीय रूपमा ‘भराण’ भनेर चिनिने बन्थडी देवताको मन्दिर लामो समयदेखि जीर्ण अवस्थामा रहेको स्थानीयले बताएका छन्। समयमै प्राविधिक अध्ययन, मर्मत तथा संरक्षणको काम अघि बढाइएको भए संरचना जोगाउन सकिने उनीहरूको दाबी छ।
