SHARE
Samata Press · बुधबार ६ साउन २०८३ ०९:२८ PM · 1 मिनेट पढाइ

गणेश नेपालीको आत्मदाह घटनामा पूर्व न्यायाधीश बाँस्तोलाको संयोजकत्वमा न्यायिक छानविन समिति गठन

काठमाडौँ। सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानविन समिति गठन गरेको छ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीको आत्मदाहसम्बन्धी घटनामा बाँस्तोलाको संयोजकत्वमा न्यायिक छानविन समिति गठन गरेको हो। नेपालीले २५ असारमा त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनको उपचारका क्रममा अर्को दिन वीर अस्पतालमा निधन भएको थियो । नेपालीको मृत्युपछि परिवारले न्यायिक छानविनको माग राखेका थिए। त्यसअनुरुप सरकारले परिवारसँग न्यायिक छनबिन समिति गठन गर्ने सहमति गरेको थियो।  बुधबार बसेको बैठकले नेपालीको मृत्युबारे न्यायिक छानविन समिति गठन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।  नेपालीको आत्मदाहबारे यसअघि नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया नेतृत्वको समितिले पनि छानविन गरिरहेको छ। समितिले घटनाका प्रत्यक्षदर्शी, नगर प्रहरीका कर्मचारी र अन्यसँग समेत बयान लिइरहेको छ।  समितिका एक सदस्यका अनुसार, परिवारका सदस्यकोचाहिँ बयान लिन बाँकी छ। ‘त्यसबेला शोकमा हुनु भएकाले कुराकानी गर्न सकिएन, केही दिनपछि कुराकानी गर्ने तयारी छ,’ उनले भने, ‘हालसम्म घटना कसरी भएको थियो, कसकसको कमजोरी रह्यो भन्ने विषयमा जाँच गरिरहेका छौं ।’ समितिले घटना भएको समयको सीसीटीभी फुटेजको समेत विश्लेषण गरेको छ । समितिका एक जना सदस्यका अनुसार गणेश २५ असार बिहान करिब ११ बजे यात्रु पुर्‍याउन राहदानी विभाग पुगेको खुलेको छ ।  २ नम्बर गेटअगाडि यात्रु ओरालेपछि अर्को ‘राइड रिक्वेस्ट’ पर्खिरहेका बेला एक महिला नगर प्रहरीले त्यहाँ मोटरसाइकल नरोक्न भनेकी थिइन् । त्यस क्रममा दुवैबीच वादविवाद भएको र केहीबेरपछि नगर प्रहरीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाइएको प्रहरीको निष्कर्ष छ । महिला नगर प्रहरीले भनेको नमान्ने भन्दै गणेशसँग प्रश्न गरेको र मोबाइल खसेर फुटेको विषयमा समेत विवाद भएको भिडियो प्रहरीले संकलन गरेको छ ।  मोटरसाइकलमा चढेका बेला आफूमाथि अन्यायपूर्वक ह्विल लक लगाइएको गुनासो भिडियोमा नेपालीले गरेका छन् ।  नेपाल प्रहरीको घटना दर्ता किताबमा दिउँसो १ बजेर ४५ मिनेटमा ३ नम्बर गेटमा पार्किङ गरिएको मोटरसाइकलमा महानगरको टोलीले ह्विल लक लगाएपछि गणेशले आफ्नै शरीरमा आगो लगाएको उल्लेख छ । प्रहरीको अनुसन्धानअनुसार ह्विल लक लगाइएको करिब दुई घण्टापछि उनले शरीरमा पेट्रोल खन्याएका थिए । ‘त्यो सबै विषयलाई सीसीटीभी फुटेज र बयानका आधारमा सिलसिलेबार रुपमा प्रस्तुत गरेका छौं,’ समितिका ती सदस्यले भने ।  मुगुको सोरु गाउँपालिका–६, जमलधारा स्थायी घर भएका नेपाली भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए । उनले तीन महिनाअघि मात्र मुगुको जग्गा धरौटीमा राखेर किस्ताबन्दीमा पल्सर मोटरसाइकल निकालेको बालाजु हाइटमा बस्दै आएका दाइ मदनको भनाइ छ । तर, भने जस्तो जागिर नपाएपछि उनी पठाओ चलाएर जिन्दगी चलाइरहेका थिए ।  नेपालीको मृत्युलाई लिएर लामो समयसम्म विवाद भएपछि सरकारले उनको परिवारसँग ९ बुँदे सहमति गरेको थियो । २८ असारमा भएको सहमतिमा सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति बनाउने समेत भनिएको छ ।  सरकारबाट तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेल र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेको यो सहमतिपछि परिवारले नेपालीको शव अस्पतालबाट उठाएका थिए । तर, अहिलेसम्म यो समितिचाहिँ गठन भएको छैन ।