गणेश नेपालीको परिवारलाई कांग्रेसद्वारा एक लाख रुपैयाँ सहयोग हस्तान्तरण
काठमाडौँ। नेपाली कांग्रेसले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ। यसअघि नेपालीको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरेअनुरुप कांग्रेसले बुधबार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो। पार्टीका तर्फबाट कांग्रेस नेताहरूले बुधबार साँझ किरियाघरमा पुगेर गणेशकी श्रीमतीसहित परिवारलाई सान्त्वाना र समवेदना व्यक्त गर्दै राहत रकम हस्तान्तरण गरेका हुन्। राहत हस्तान्तरणका लागि मुगुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खड्गबहादुर शाही, कांग्रेसका पूर्व सहमहामन्त्री जीवन परियार, संविधानसभा सदस्य विमला नेपाली, नेपाल दलित संघका केन्द्रीय अध्यक्ष विपीन रामुदामु, युवा नेता दीपक सोनी र टेकबहादुर विश्वकर्मा लगायत नेताहरू किरियाघर पुगेका थिए। नेपालीले २५ असारमा त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनको उपचारका क्रममा अर्को दिन वीर अस्पतालमा निधन भएको थियो ।
