SHARE
Samata Press · बुधबार ६ साउन २०८३ ११:१७ PM · 1 मिनेट पढाइ

नेपाल स्काउटको नियुक्ति पारदर्शी नभएको भन्दै पूर्व अन्तर्राष्ट्रिय आयुक्त स्मृति बरालको विरोध

काठमाडौं । नेपाल स्काउटकी पूर्व अन्तर्राष्ट्रिय आयुक्त तथा राष्ट्रिय कार्यकारी समिति सदस्य स्मृति बरालले नेपाल स्काउटमा सरकारले गरेको पछिल्लो नियुक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोध सडकबाट गर्ने चेतावनी दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बरालले सरकारलाई नियुक्तिका लागि शुभकामना दिँदै योग्य व्यक्तिलाई खुला प्रतिस्पर्धा (ओपन कल) मार्फत अवसर दिन सकिने पर्याप्त सम्भावना हुँदाहुँदै अपनाइएको प्रक्रिया पारदर्शी नभएको आरोप लगाएकी हुन् । उनले ‘पद कति विवेकहीन निर्णयको माध्यम बन्न सक्दो रहेछ भन्ने कुरा आज स्पष्ट भयो’ भन्दै अब व्यावसायिक धैर्यता कायम राख्ने अवस्था समाप्त भएको उल्लेख गरेकी छन् । बरालले न्यायपूर्ण र पारदर्शी नियुक्ति प्रक्रियाका लागि अन्तिम सास र रगत रहुञ्जेल संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई परिस्थिति व्यवस्थापनका लागि तयारी गर्नसमेत आग्रह गरेकी छन् । फेसबुक स्टाटसमार्फत उनले आन्दोलनका क्रममा कति प्रहरी परिचालन गरिन्छ भन्ने प्रश्नसमेत उठाउँदै प्रधानमन्त्री बालेन शाह तथा शिक्षा तथा खेलकुदमन्त्री शस्मित पोखरेलाईलाई समेत सम्बोधन गरेकी छन् । बरालको उक्त अभिव्यक्तिपछि नेपाल स्काउटमा गरिएको पछिल्लो नियुक्ति प्रक्रियालाई लिएर थप बहस हुने देखिएको छ ।   बुधवार शिक्षा तथा खेलकुदमन्त्री शस्मित पोखरेलले नेपाल स्काउटको राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तमा सन्तोष कुमार थापा नियुक्त गरेका हुन् । थापा यस अघि नेपाल स्काउटमै तालीम आयुक्त पदमा कार्यरत थिए । थापालाई बालेन शाह नेतृत्वकै सरकारले केही समय अघि मात्रै अध्यादेशमार्फत सबै राजनीतिक नियुक्ति खारेज गर्दा थापा पनि बर्खास्त गरेकाे थियाे । नेपाल स्काउटका विवादित पूर्व निर्देशक रामप्रसाद भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजीव खत्रीका प्रिय पात्र हुन् । प्रतिनिधि सभा सदस्य खत्री नेपाल स्काउटको तदर्थ समितिमा सह-संयोजक समेत थिए ।