SHARE
Samata Press · बिहीबार ७ साउन २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

सुशीला सरकारले हटाएको स्वकीय सचिवसम्बन्धी व्यवस्था बालेनले उल्टाए, कसलाई के-के सुविधा ?

काठमाडौँ । जेनजी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले कटौती गरेको सङ्घीय सांसदको स्वकीय सचिवको व्यवस्था बालेन शाह नेतृत्वको सरकारले व्यूँताएको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची २ मा संशोधन गरेर खारेज गरिएको यस अघिको व्यवस्थालाई संशोधनमार्फत व्यूँताएको हो । यस अघि स्वकीय सचिवको व्यवस्था मात्रै रहेकोमा अहिलेको सरकारले व्यूँताएको स्वकीय सचिव सम्बन्धी व्यवस्थामा प्रतिनिधि सभामा सभामुख र राष्ट्रिय सभाका अध्यक्षको प्रमुख स्वकीय सचिवलाई नेपाल सरकारको सहसचिव सरहको गाडी र इन्धनको सुविधा समेत थप गरिएको छ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारेश्वर ढुङ्गानाका अनुसार नयाँ संशोधनअनुसार प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सचिवालयमा ३ जनासम्म अधिकृत स्तरका कर्मचारी रहने व्यवस्था गरिएको छ । जसमा राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव सरहको प्रमुख स्वकीय सचिव एक जना, राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिव सरहको स्वकीय सचिव एक जना र राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहको स्वकीय सचिव एक जनाको व्यवस्था गरिएको छ ।  यसै गरी प्रतिनिधिसभामा विपक्षी दलको नेता, उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, राष्ट्रिय सभामा विपक्षी दलको नेता, सत्ता पक्षको नेता, मुख्य सचेतक, प्रमुख सचेतक, सचेतक तथा विषयगत समितिका सभापतिले राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिव सरहको एक जना स्वकीय सचिव राख्न पाउनेछन् । सङ्घीय संसद्का प्रत्येक सदस्य (सांसद) ले आफ्नो स्वकीय सचिवालयका लागि राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहको एक जना स्वकीय सचिव पाउने व्यवस्था ऐनको अनुसूची २ मा राखिएको छ ।  स्वकीय सचिवालयमा नियुक्त हुने सबै कर्मचारीले नेपाल सरकारको सम्बन्धित श्रेणीको सुरु स्केल अनुसारको मात्र तलब पाउने र कुनै थप ग्रेड वा भत्ता सोझै दाबी गर्न पाइने छैनन् । तर, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षका प्रमुख स्वकीय सचिव (सहसचिव सरह)ले भने नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का निजामती कर्मचारी सरह नै सरकारी सवारी साधन ९गाडी० र इन्धन सुविधा प्राप्त गर्नेछन् । निजामती सरहकै योग्यता, तलब बैंक खातामै स्वकीय सचिवालयका कर्मचारीले ऐनबमोजिम पाउने सम्पूर्ण पारिश्रमिक तथा भत्ता अनिवार्य रूपमा निजकै बैङ्क खातामा सोझै जम्मा गरिनेछ । संसदीय पदाधिकारी वा सांसदका स्वकीय सचिवमा नियुक्त हुने व्यक्तिको न्यूनतम योग्यता तोकिएको छ । संशोधित व्यवस्थाअनुसार स्वकीय सचिवको योग्यता प्रचलित कानुनबमोजिम नेपाल सरकारको सम्बन्धित श्रेणी वा तहको निजामती कर्मचारीका लागि तोकिएको न्यूनतम योग्यता सरह हुनुपर्नेछ । अर्थात्, शाखा अधिकृत सरहको स्वकीय सचिव बन्न कम्तीमा स्नातक र उपसचिव वा सहसचिव सरहको लागि सोही अनुसारको माथिल्लो शैक्षिक योग्यता र अनुभव हुनुपर्नेछ ।