SHARE
अर्थ संवाद · आइबार​ १० साउन २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

टोकियो घोषणापत्र जारी गर्दै सम्पन्न भयो पहिलो ''ग्लोबल मिडिया कन्फ्रेन्स–२०२६''

भवानी भट्ट / टोकियो, "सञ्चार माध्यममार्फत विश्वलाई जोड्ने प्रवासी नेपाली आवाज” भन्ने मूल नारासहित नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा ग्लोबल मिडिया कन्फ्रेन्स २०२६ जापानको टोकियोमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको इतिहासमा जापान शाखाले आयोजना गरेको यो पहिलो अन्तर्राष्ट्रिय ग्लोबल मिडिया कन्फ्रेन्स हो। एकदिने सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय समिति, विभिन्न प्रदेश समितिका प्रतिनिधि तथा अमेरिका, युरोप, अष्ट्रेलिया, युएई, कुवेत, दक्षिण कोरिया, बेल्जियम, जापानलगायत ११ वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, विभिन्न संघ–संस्था, सञ्चारकर्मी तथा नेपाली समुदायका प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो। सम्मेलनको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, जिम्मेवार पत्रकारिता तथा विश्वभर रहेका नेपाली पत्रकारबीच एकता र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइन्। कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले लोकतान्त्रिक समाज निर्माणमा स्वतन्त्र र जिम्मेवार सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। सम्मेलनमा एआई तथा डिजिटल पत्रकारिताको जिम्मेवार प्रयोग, प्रवास पत्रकारिताको भूमिका, नेपाल पत्रकार महासंघ र वैदेशिक शाखाबीचको सम्बन्ध, प्रवासी नेपाली समुदाय र सञ्चारमाध्यमबीचको सहकार्य तथा नेपालमा लगानी भित्र्याउन डायस्पोरिक मिडियाको भूमिकालगायत समसामयिक विषयमा गहन छलफल गरिएको थियो। सम्मेलनले टोकियो घोषणापत्र २०२६ जारी गर्दै प्रवासी पत्रकारको भूमिकालाई संस्थागत रूपमा थप सुदृढ गर्ने, नेपाल पत्रकार महासंघको केन्द्रीय संरचनामा वैदेशिक शाखाको प्रतिनिधित्व सुनिश्चित गर्ने, केन्द्रीय निर्वाचनमा वैदेशिक शाखाको मतदान अधिकार सुनिश्चित गर्ने, महासंघ र वैदेशिक शाखाबीचको समन्वयलाई प्रभावकारी बनाउने तथा विश्वभरका नेपाली पत्रकारबीच पेशागत एकता र सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल पत्रकार महासंघ जापान शाखाले सम्मेलन सफल बनाउन सहयोग पुर्‍याउने नेपाल पत्रकार महासंघका केन्द्रीय समिति, प्रदेश समिति, ११ वैदेशिक शाखा, अतिथि, वक्ता, , सहयोगी संस्था, प्रायोजक तथा प्रत्यक्ष परोक्ष रूपमा साथ दिने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेको छ। टोकियोमा पहिलो पटक सम्पन्न भएको यो सम्मेलनले विश्वभर छरिएका नेपाली पत्रकारलाई एउटै साझा मञ्चमा जोड्दै अनुभव आदानप्रदान, पेशागत एकता, संस्थागत सुदृढीकरण र अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ दिशा दिएको आयोजकको विश्वास रहेको छ।