सीमा सहजीकरणका लागि सशस्त्रको ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन
काठमाडौँ । सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना सङ्कलनका लागि सशस्त्र प्रहरी बल नेपालको ‘बोर्डर इन्टरयाक्सन टिम (सीमा संवाद समूह) परिचालन गरिएको छ । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा १४ जनाको टोली आजदेखि परिचालन गरिएको हो । सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमासुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आज रुपन्देहीको डण्डास्थित सीमासुरक्षा गुल्मबाट सो टोली परिचालनको शुभारम्भ गरे । सो क्रममा उनले सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापका बारेमा समेत जानकारी लिएका छन्। सो टोलीले विशेषगरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र वृद्धवृद्धाको सहजीकरण, मावनबेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तुलगायत सामग्रीको निगरानी, नियन्त्रण तथा जाँचमा कडाइका साथ काम गर्नेछ । टोलीबाट सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा नियकाहरुसँग समन्वयमा सीमा इलाकामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम, नियन्त्रणलगायत अन्य ‘अप्रेसनल’ कामकारबाहीमा समेत सहयोग पुग्ने सशस्त्रको विश्वास छ । आजै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनीपतिले टोली परिचालनको शुभारम्भ गरेका छन् । मुख्य सीमा नाकामा परिचालन हुने सो टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म सादा पोसाकमा रहने छन् ।
