प्रदेशभरिका बिरामीको भरोसा बन्दै रत्ननगर अस्पताल
भक्तपुर । बागमती प्रदेशअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ स्थित टाँडी बजारको उत्तरतर्फ अवस्थित बकुलहर रत्ननगर अस्पताल यतिखेर स्थानीयवासीका लागि मात्रै नभई मध्यम र निम्न वर्गका माझी समुदायदेखि राउटे बस्तीका बिरामीसमेतका लागि स्वास्थ्य उपचारमा बरदान बनेको छ । पूर्वपश्चिम राजमार्गबाट करिब ५० मिटरको दूरीमा पूर्वी चितवनको टाँडी बजारमा स्थानीयको मन र विश्वास जित्दै अगाडि बढिरहेको अस्पताल हो बकुलहर रत्ननगर अस्पताल । भरतपुरबाट ११ किमी दूरीमा रहेको यस अस्पताल पूर्वी चितवनको एकमात्र प्रदेशअन्तर्गतको जिल्ला अस्पताल हो । विसं २०२४ मा बकुलहर स्वास्थ्यचौकीको नाममा स्थापना गरिएको स्वास्थ्यचौकीलाई नेपाल सरकारले २०६५ सालमा सेवा विस्तार गरी १५ शय्याको जिल्ला अस्पतालका रूपमा सञ्चालनमा ल्याएको थियो । देशमा सङ्घीयता कार्यान्वयनसँगै २०७७ मङ्सिर १८ को नेपाल सरकारको निर्णयअनुसार यस अस्पताललाई बागमती प्रदेशअन्तर्गत राखेपछि प्रदेश सरकारको मातहतमा अस्पताल सञ्चालन हुँदै आएको छ । प्रदेश सरकारको २०७७ फागुन १३ को निर्णयअनुसार यस अस्पताललाई १५ शय्या बढाएर ५० शय्यामा स्तरवृद्धि गरेसँगै अस्पतालले सेवा पनि विस्तार गर्दै गयो । विसं २०८० मा प्रदेश सरकारले अस्पतालको पुनः स्तरवृद्धि गर्दै सय शय्या पुर्याएपछि सेवा विस्तार गरी गुणस्तरीय सेवा प्रवाहमा अब्बल बन्दै माडीको मात्रै नभई पूर्वी चितवनवासीको विश्वास जित्दै आएको छ । छाला रोगको नेपालकै उत्कष्ट प्रविधिबाट उपचार गर्ने भएपछि यहाँ भरतपुरदेखि काठमाडौँसम्मका बिरामीहरू छालाकै उपचारका लागि आउने गरेका छन् । मध्यम वर्ग र न्यून वर्गका व्यक्तिहरूको निःशुल्क उपचार हुँदै आएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले रत्ननगरको बकुलहर अस्पताललाई गुणस्तरीय सेवा विस्तारसँगै नमूनाको अस्पतालका रूपमा विकास गर्ने लक्ष्यअनुसार अगाडि बढेको बताए । दैनिक बिरामीको चाप बढ्दै गएको यस अस्पतालमा उपचारका लागि आउने बिरामीले गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति र विश्वास जितेर जान सक्नेगरी विकास गर्दै २०० शय्यामा विस्तार गर्नेगरी सरकार निरन्तर लागिरहेको उनले बताए । मन्त्री थापामगरले भने, “अस्पतालमा बिरामीको चाप निकै बढ्दै गएको छ, अस्पतालको भौतिक संरचना, जनशक्ति व्यवस्थापनदेखि उपकरणयुक्त एवं प्रविधिमैत्री बनाउन प्रदेश स्वास्थ्य मन्त्रालय लागिरहेको छ । अस्पतालले नर्सिङ कलेज सञ्चालनका लागि तयारी गरेकाले स्वीकृतिको तयारीमा छौँ । यहाँ आउने कोही पनि बिरामी पैसा नभएकै कारण ज्यान गमाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी सेवाप्रवाह भइरहेको छ ।” अस्पतालमा मात्रै नभई बिरामीको सेवा गर्न दुर्गम गाउँमा उपकरणसमेत लिएर गई स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षणदेखि निःशुल्क उपचारसम्मको व्यवस्था गरेको उनले बताए । उनले प्रदेशबाट सञ्चालित सबै अस्पताल, आयुर्वेद अस्पतालहरूलाई प्रविधिमैत्री बनाउँदै औषधि उत्पादनसमेत सुरु गरेको बताए । वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतम बागमती प्रदेशको १३ वटै जिल्ला अस्पतालको स्तरोन्नति, विशेषज्ञ सेवाहरू विस्तार, प्रविधिमैत्री, उपकरणमैत्री बनाउनेदेखि शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेगरी व्यवस्थापनको तयारी गरेको बताइन् । प्रदेश सरकारले औषधि उत्पादनलाई समेत विस्तार गर्दै लागेको बताउँदै सबै अस्पतालमा डायलायसिस मेसिन सञ्चालन गर्ने, मेमोग्राम मेसिन सञ्चालन गर्ने, मुटु सेवाको उपचार विस्तार गर्ने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउनेगरी मन्त्रालयले सेवा विस्तार गरिरहेको उनले बताइन् । बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अङ्कुर पौडेलले २०२४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना भई २०६५ सालमा नेपाल सरकारबाट जिल्ला अस्पतालको मान्यता प्राप्त गरी १५ शय्यामा विस्तार भएको बताउँछन् । विसं २०७७ मा प्रदेश सरकारले ५० शय्याको प्रादेशिक अस्पतालको रुपमा विस्तार गरेसँगै सेवा विस्तार गर्दै लगेको बताउदै उनले २०८० सालमा १०० शय्याको सेकेन्डरी बी लेबलको अस्पतालको रूपमा स्तरोन्नति गरी निरन्तर सेवा प्रवाह गरिरहेको उल्लेख गरे । मेसु डा पौडेल भजे, “अस्पतालले ओपिडीतर्फ १० वटा विशेषज्ञ सेवाहरू सञ्चालन गरिरहको छ, १० शय्याको हेमो–डायलायसिस सेवा तीन सिफ्टमा दैनिक ७५ जनासम्म बिरामीलाई सेवा दिइरहेका छौँ, छ शय्या थप गर्ने तयारी भइरहेको छ । पाँच शय्याको आइसीयू सेवालगायत २४ घण्टा आकस्मिक सेवा, अर्थोपेडिक सर्जरी, नेपालका ठूला अस्पतालका भन्दा राम्रा र अत्याधुनिक ल्याब यहाँ रहेको छ ।” प्रत्येक ओपिडीमा टोकन र बिलिङको व्यवस्था रहेको बताउँदै उनले अस्पतालमा दैनिक आउने १५ सयसम्म बिरामीहरू र तीमध्ये जनरल फिजिसियनमा आउने ५० प्रतिशत बिरामीलाई हेर्न भौतिक संरचना र दरबन्दी अपुग रहेको बताए । हाल अस्पतालको ‘ब्लक ए’ र ‘सी’बाट सेवा सञ्चालन भइरहेको र ब्लक ‘बी’ निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए । अस्पतालले सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता रहेको भन्दै उनले सिटीस्क्यान, मुटुको बिरामीलाई क्याथल्याबको आवश्यकता पर्दामात्रै बिरामीलाई बाहिर पठाउने गरेको र त्यसबाहेक सबै विशेषज्ञ सेवाहरू प्रवाह गर्दै आएको छ । रोग निको पार्नेमात्र नभई कसरी बिरामीको मन जित्न सकिन्छ भनेर लागिरहेको अस्पतालले सबै डिजिटलाइज गर्नेगरी अगाडि बढाएको छ । अस्पतालले छुट्टै ओपिडी सेवा सञ्चालन गरेको छ भने अटोमेटिक ल्याब मेसिन सञ्चालनमा ल्याएको जनाएको छ । अस्पतालले अति विशेष सेवा थप गर्दै जाने क्रममा स्वस्थ्य सेवामात्रै नभई शैक्षिक केन्द्रको रूपमा समेत विकास गर्ने लक्ष्य लिएको र नर्सिङ कलेज सञ्चालनको तयारी गरेको जनाएको छ । अस्पतालमा दुईवटा ओटी विस्तार गर्ने, २४ सै घण्टा युरोलोजीदेखि आँखाको सर्जरी सेवा विस्तारको तयारी गरेको उनले बताए । अस्पताल सञ्चालन तथा व्यस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्य अस्पताल स्थापना अगाडिको अवस्था सम्झँदै स्वास्थ्यचौकीमा सिटामल लिनमात्रै बिरामी आउने गरेको सम्झाए । स्वास्थ्यचौकीमा सेवा लिन चितवन नै पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न ‘हामीले नगरे कसले गर्ने’ भन्ने नाराका साथ अस्पताल निर्माणमा जुटेको उनले स्मरण गरे । उनले भने “उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदा सङ्घ र रत्ननगर अस्पतालको साझेदारीमा स्वास्थ्यचौकीलाई अस्पताल बनाउने अभियान सुरु गरेका हौँ, त्यसपछि भने धान्याञ्चल महायज्ञ लगाएर रु एक करोड ६८ लाख रकम सङ्कलनबाट नयाँ भवन निर्माण गरी अस्पतालमा सेवा विस्तार गर्यौँ । अस्पताललाई आजको अवस्थासम्म पुर्याउन स्वीजरल्याण्डको दातृ निकाय शान्ति मेड नेपालको योगदानलाई बिर्सन सकिँदैन ।” सो संस्थो नयाँ भवन निर्माण, सम्पूर्ण फर्निचर, प्रविधि र आधुनिक उपकरणका व्यवस्था गरी देशकै उत्कृष्ट छाला रोगको उपचार सुरु गरेपछि धादिङ र गोरखादेखि बिरामी आउने गरेको उनले बताए । अस्पतालमा मातृशिशु कक्ष विस्तारका लागि भवन निर्माण भइरहेको छ । उच्चस्तरीय प्रविधि जडित ल्याब सेवा सञ्चालन गरे पनि सिटीस्क्यान नहुँदा त्यसका लागि बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको अध्यक्ष कर्माचार्यको भनाइ छ । विपन्न, अतिविपन्न, सीमान्तकृत व्यक्ति माझी, चेपाङ, चमार, थारू समुदायका बिरामीलाई उपचार खर्च नभएर फर्कनुपर्ने अवस्था नभएको भन्दै उहाँले नगरपालिकाका कोष, स्वास्थ्य बिमा र अन्य स्रोतबाट पैसा नभएका बिरामीको निःशुल्क उचार सेवा प्रदान गर्दै आएको जानकारी दिए । यहाँको सेवाले पूर्वी चितवनमात्रै नभई पश्चिम चितवनवासीको मन र विश्वास जित्न सफल भएको बताउँदै मिर्गौलाको बिरामीले राम्रो सेवा पाएको बताउनुहुन्छ अस्पतालका पूर्वअध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ । अस्पताललाई अझै प्रविधिमैत्री बनाउन केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोग लिने प्रयास भइरहेको उनले बताए । अस्पताललाई छाला रोग विषेशज्ञ सेवा प्रदान गर्नमात्र नभई डा रुथले २१ दशमलव छ किलावाटको सौर्य ऊर्जा उत्पादन गरी सोलारबाट हेमोलायलायसिस सेवा सञ्चालन गभएको छ । हाल यहाँ सात जना विशेषज्ञसहित २७ जना कर्मचारीले अनवरत सेवा सञ्चालन गरिरहेका छन् । तत्कालीन समयमा पूर्वी चितवनमा कुनै अस्पताल नभएको अवस्थामा राजमार्गमा हुने ठूला दुर्घटनामा परेकाहरूको ज्यान बचाउन पनि अस्पताल चाहिन्छ भनेर २०५८ मङ्सिर ४ गते धान्यचल महायज्ञ गरी सङ्कलित रकमबाट भूकम्पीय जोखिमरहित प्रविधिको प्रयोग गरेर २२ हजार वर्गमिटरमा भवन निर्माण गरी स्वास्थ्यचौकीलाई अस्पतालका रूपमा विस्तार गरिएको अस्पतालका संस्थापक अध्यक्ष एवं रत्ननगर नगरपालिकाका पूर्वप्रमुख नारायण वन बताउँछन् । उच्च गुणस्तरीय उपकरण रहेको यस अस्पतालको ल्याब १० ठाउँमा राखिएको र फरकफरक रोगको फरक ठाउँबाट ल्याब परीक्षण गर्ने र रिर्पोट प्रवाह गर्ने व्यवस्था गरिएको ल्याब प्राविधिक सुरज अधिकारी बताउँछन् । एकैपटकमा १२० जनाको र एक घण्टामा ४०० जनाको रिपोर्ट दिनसक्ने यहाँको ल्याबमा क्यान्सरजन्य रोगदेखि शरीरका ट्युमर पत्ता लगाउन परीक्षण सुविधा रहेको छ । उपचारमा खर्च कम लाग्ने र गणस्तरीय सेवा प्रभावकारी भएकै कारण बिरामीको चाप बढेको उनले बताए ।
