सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कानुनी व्यवस्था स्पष्ट पार्न सांसद शर्माको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। बिहीबार प्रतिनिधिसभामा ‘सहकारी ऐन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै उनले निर्दोष बचतकर्ताको रकम फिर्ता हुने कानुनी सुनिश्चितता नै आफूहरूको मुख्य चासो रहेको बताए। उनले भने, ‘हाम्रो चासो केवल निर्दोष बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउने कानुनी सुनिश्चिततासँग मात्र सम्बन्धित छ । बाग्लुङस्थित इमेज सहकारीमा दुई अर्ब रुपैयाँभन्दा बढी बचतकर्ताको बचत रहेको थियो। तीमध्ये करिब ८० प्रतिशत बचतकर्ताको रकम सम्बन्धित सम्पत्तिबाट भुक्तानी गरिने आधारसहित तमसुकसमेत भइसकेको अवस्था छ । तर सम्बन्धित सम्पत्ति रोक्का छ र सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा हाल बाग्लुङ जिल्ला कारागारमा रहनुभएको छ।
