सरकारका एकसय कार्यसूची : स्मार्ट लाइसेन्सदेखि नागरिक एप र टेलिकम सेवामा सुधारसम्मका उपलब्धि
काठमाडौं । सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हालसम्म भएका कामहरु सार्वजनिक गरेको छ । सरकारले सेवा प्रवाह, सूचना प्रविधि, डिजिटल शासन तथा नेपाल टेलिकमको सेवा सुधारमा उल्लेखनीय उपलब्धि हासिल भएको जनाएको हो । सरकारका अनुसार २०८३ असार १६ गतेसम्म २३ लाख ७५ हजार १८१ वटा (८२ प्रतिशत) स्मार्ट सवारी चालक अनुमतिपत्र छपाइ सम्पन्न भएको छ । नयाँ आवेदनका हकमा यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था समेत लागू गरिएको छ । डिजिटल अपराध नियन्त्रणतर्फ २६ वटा दर्ता भएका बेटिङ एप र २ लाख ४८ हजार ६७६ वटा अवैध अनलाइन सट्टेबाजी तथा जुवाका डोमेन लिंक बन्द गरेको छ । सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ भने सूचना प्रविधि, साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता सम्बन्धी विधेयकको मस्यौदा तयार पारेर प्रक्रिया अगाडि बढाइएको जनाएको छ । सेवा प्रवाहलाई छिटो बनाउन प्रसारण इजाजत तथा चलचित्र जाँचपासजस्ता सेवाको समय ३–७ दिनबाट घटाएर १–३ दिन मा सीमित गरिएको छ । हुलाक सेवामार्फत २ लाख ६ हजारभन्दा बढी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ भने ५ हजार ७२८ राहदानी सेवाग्राहीको घरमै पु¥याइएको छ । त्यस्तै, ८ लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र सम्बन्धित कार्यालयसम्म ढुवानी गरिएको र ७ जिल्लाका १ हजार ८९ सेवाग्राहीलाई लाइसेन्स घरमै वितरण गरिएको जानकारी दिइएको छ ।हुलाक सेवामार्फत स्वास्थ्य नमुना, शैक्षिक प्रमाणपत्र वितरण तथा देशभरका ५० हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने काम पनि अघि बढाइएको सरकारले जनाएको छ ।
