SHARE
अर्थ संवाद · मङगलबार २३ असार २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

इलाम । इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदै भाषिक समावेशीकरणको अभ्यासलाई तीव्रता दिएका छन् । यसै क्रममा जिल्लाको चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषा लागू गर्ने भएको छ भने माङसेबुङ गाउँपालिकाले लिम्बू भाषापछि अब वान्तवा भाषालाई पनि सरकारी मान्यता दिने निर्णय गरेको छ । स्थानीय बासिन्दाको पहिचान र मातृभाषाको सम्मान गर्दै यी पालिकाहरूले आफ्ना नीति तथा कार्यक्रममार्फत ऐतिहासिक कदम चालेका हुन् । चुलाचुली गाँउपालिकाले गाउँसभाको १८औं अधिवेशनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रममा लिम्बू भाषालाई पालिकाभरी सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । भाषा कार्यान्वयनलाई कानुनी रुपमै स्थापित गर्न पालिकाले ‘लिम्बू भाषा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक, २०८३’ समेत पारित गरिसकेको छ । अध्यक्ष केरुङले भने, ‘यस निर्णयले यहाँका मातृभाषीहरूको सम्मान हुनुका साथै रैथाने भाषाको संरक्षण र प्रवद्र्धनमा ठूलो योगदान पुग्नेमा हामी विश्वस्त छौं ।