नेपालको निर्माण क्षेत्रमा नयाँ युगको सुरुवात: विकासमैत्री सार्वजनिक खरिद ऐन र हाम्रो दायित्व
– (लेखक छत्र बहादुर तामाङ अध्यक्ष बागमती प्रदेश निर्माण व्यवसायी महासंघ) नेपालको आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासको मेरुदण्डका रूपमा रहेको निर्माण क्षेत्र लामो समयदेखि नीतिगत र व्यावहारिक झन्झटहरूको चक्रव्यूहमा फसेको थियो। ऐतिहासिक जनआन्दोलन २०६२/६३ को जगमा निर्माण भएको सरकार र सदनले ल्याएको 'सार्वजनिक खरिद ऐन, २०६३' लामो समयसम्म विकासमैत्री र निर्माणमैत्री हुन नसकेको गुनासो निरन्तर उठिरह्यो। सरोकारवालाहरूले पटक–पटक आवाज उठाउँदा पनि तत्कालीन शासकहरूले यसमा खासै चासो देखाएका थिएनन्। तर, वर्तमान सरकारले गठन भएको १०० दिनभित्रै निर्माण क्षेत्रका ऐतिहासिक गाँठो फुकाल्दै सार्वजनिक खरिद ऐनमा गरेको समसामयिक संशोधनले नेपालको निर्माण क्षेत्रलाई दोस्रो चरण (नयाँ युग) मा प्रवेश गराएको छ। यो संशोधन सँगै विगत लामो समयदेखि "सार्वजनिक खरिद ऐन विकासमैत्री छैन" भनी बजारमा निर्माण भएको नकारात्मक भाष्यको समेत अन्त्य भएको छ।
